• २०८३ जेष्ठ १७ गते आइतवार

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ९,काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ मझुवास्थित सडकबाट नियन्त्रित लागूऔषध ५८ एम्पुल डाइजेपाम, ५८ एम्पुल फेनारगन र ५८ एम्पुल नुर्फिन सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र सोही ठाउ बस्ने २६ वर्षीय प्रकाश गुरुङ रहेका छन् । नेपालगंजबाट पोखरातर्फ आउँदै गरेका सवारी साधनलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नवलपरासी(पश्चिम)  सरावल गाउँपालिका-५ सानो दुबौलियाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय रामसमुझ केवटलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, बन्दीपुर गाउँपालिका-४ नयाँ पुलबाट १ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी गाउँपालिका-६ बस्ने २५ वर्षीय आकाश मगर समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस