बैशाख ६, काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले आफुले एमाले बरिष्ठ नेता माधवकुमार नेपालको अपमान गरेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा समाचार सेयर गरेपछि आएका प्रतिक्रियाहरुको जबाफ दिदैं उहाले माधव नेपाललाई कहिले अपमान गरे भनेर प्रश्न उठाृनु भएको हो ।
सामाजिक सञ्जालमा लेख्ने बितिकै नेपाल खनाल पक्षले गर्ने अपमानजनक शब्दले धेरै पीडा भएको जनाउदैं उहाले स्टाटस हाल्नु भएको हो । उहाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ -” हो कमरेड ! म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।
कमरेडहरु ,मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक बताई दिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें ? भनिदिनुहोस न कमरेड ! मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ, घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड , आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन । मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो , म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएन त्यसमा दु:ख लाग्छ मलाई । आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन , एउटा श्रद्धा गरेको मेरो नेतालाई , आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु , बोलेर भन्छु , चिच्याएर भन्छु ।”