चैत २०, काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ ।
छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उहाँले जानकारी दिनुभयो । बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल भने हुने खड्काको भनाइ छ । संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न सकेको थिएन । काँग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।
पार्टीको संस्थापन इत्तर पक्ष वर्तमान केपी ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि बैठकले अन्य दललाई आह्वान गर्नुपर्ने पक्षमा छ । तर सभापति शेरबहादुर देउवा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छन् ।