चैत १६, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देको धुरीमा होलीका अवसरमा लागेको मेलामा झगडा हुँदा मारिएका दुई जना नेपाली कांग्रेसका कार्यकर्ता भएको खुलेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दुई समूहबीच झडप परि मृत्यु हुने प्रकाश कुँवर कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य र दीपक परियार सक्रिय कार्यकर्ता हुन् ।
विश्वप्रकाशले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग पनि गनुभएको छ । बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
सुनियोजित तरिकाले हमला गरी योजनावद्ध रूपमा हत्या गरिएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । ‘घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले ज्यान गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य समेत हुन्, दु वै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ। प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शर्माले भन्नुभएको छ । घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ ।
