• २०८३ जेष्ठ २२ गते शुक्रवार

झापामा कारागार भवन थपिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, झापा। क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गर्नुभयो ।

हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १८४ कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन् कारागार ३५० जनासम्मका लागि हो ।

पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो ।

झापा कारागारलाई तीन किलोमिटर पश्चिममा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको १० बिघा जग्गामा भविष्यमा स्थानान्तरण गर्न सरकारले तयारी गरिरहेको छ । कारागारभित्रै आयोजना गरिएको शिलान्यास कार्यक्रममा कैदीबन्दीको समेत उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस