फागुन १५, काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी गरेका छन् । नेकपाकै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने २ वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताएका हुन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकटका सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोहीअनुसार अघि बढ्न निर्देशन दिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश १ का संघीय सांसदसँग छलफल गरेका उनले कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारे । छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा १ सय २० भन्दा बढी सांसद पुग्ने दाबी गरेका छन् ।
दाहाल–नेपाल समूह भने ओलीलाई जसरी पनि विस्थापित गर्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०सँग सरकार निर्माणबारे छलफल गरेका दाहाल–नेपाल समूहले ओली समूहबाहेकको संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका हुन् ।
‘बीचमै राजीनामा दिएर छोड्न मिल्दैन । अझै दुई वर्षसम्म मैले नै सरकार चलाउने हो’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले भने, ‘राजीनामा दिने कल्पना नै नगर्नुस् । तपार्इंहरू ढुक्क हुनुस् । साथीहरू लड्डु खाँदै हिंडनुभएछ, ठिकै छ हेर्दै जाउँला ।’
प्रधानमन्त्री ओलीसँग छलफल गरेका सांसदले पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएका छन् । तलका नेता, कार्यकर्ता तथा शुभेच्छुकले पार्टी एकता कायम रहोस् भन्ने चिन्ता राख्दै आएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको एक नेताले बताए ।
प्रदेश १ का साथै अन्य प्रदेशका सांसदसँग छलफलमा रहेका प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा सल्लाहसुझाव लिइरहेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै आगामी दिनमा तय गर्नुपर्ने रणनीति बनाइरहेका छन् ।
यसैबीच नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने’ बताएका हुन् ।
प्रधानमन्त्री संसदीय सर्वोच्चता स्विकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले बताए । हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चुनौतीसमेत उनले दिए । प्रधानमन्त्री ओली लोकतन्त्रको संस्थागत विकासमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले स्पष्ट पारे ।
कम्युनिस्ट पार्टी हिजोझैं ‘चल्ते, चलाते’ ढंगले सञ्चालन नहुने जिकिर गर्दै पोखरेलले नयाँ कम्युनिस्ट पार्टीमा युवा हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने तथा फोहोरमैला सफा हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।