• २०८३ जेष्ठ ८ गते शुक्रवार

नेकपा विवादमा कांग्रेस बोल्दैन

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

फागुन १३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विवादले आगामी राजनीति तय गर्ने बताएका छन्। ‘प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि उहाँहरू (नेकपाका दुवै समूह) कसरी अगाडि बढ्नुहुन्छ। प्रचण्ड–नेपाल कसरी अगाडि बढ्नुहुन्छ ?’, सभापति देउवाले बुधबार काठमाडौंमा कांग्रेस नेता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भने, ‘अविश्वासको प्रस्ताव अगाडि बढ्छ कि ओलीले छाड्नुहुन्छ ? ओलीले के गर्नुहुन्छ ? कि ओलीले बहुमत पुष्टि गर्न सक्नुपर्‍यो नत्र छाड्दा नै राम्रो।’

देउवाले नेकपा दुई समूहमा विभाजन भए पनि कानुनी रूपमा एउटै दल भएको उल्लेख गर्दै नेकपा विवादबारे कांग्रेसले केही नबोल्ने बताए। ‘यसबारे हामीले भन्ने कुरा पनि भएन। यो अर्को पार्टीको कुरा हो’, उनले भने। उनले कांग्रेस नेकपा विभाजन होस् भन्ने पक्षमा नभएको स्पष्ट पारे। ‘नेकपामा दुईवटा समूह भएका छन्। तर, पार्टी एकै छ। हामी पार्टी फुटोस् भन्ने पक्षमा पनि छैनौं। निर्वाचन आयोगले पनि चाँडै यो विवाद टुंगो लगाउला’, उनले भने।

उनले संसदीय दलको बैठक बोलाएर कांग्रेसले आवश्यक निर्णय गर्ने बताए। पार्टीको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने उनले स्पष्ट पारे। संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न पनि कांग्रेससँग आवश्यक मत नहुँदा भूमिका खुम्चिन पुगेको उनको भनाइ थियो। ‘हामीसँग यति कम सिट छ कि पक्ष पनि हुन सक्दैन, विपक्षी पनि’, उनले भने, ‘अब नेकपा विभाजन भइहाल्यो भने त प्रमुख विपक्षी दल पनि हुँदैन। त्यति बेला कांग्रेसले केही गरेन नभन्नुहोला।’

विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरी सुनुवाइ सुरु गरेपछि आफूलाई शंका लागेको उनको भनाइ थियो। ‘अदालतले स्टे अर्डर दिन्छ होला भन्ने मैले सोचेको थिएँ। स्टेअर्डर गरेको भए संसद् रहिरहन्थ्यो’, उनले भने, ‘स्टेअर्डर नदिएर सुनुवाइ सुरु गरेपछि मलाई पनि अदालतले के गर्छ भने शंका भएको हो। त्यसैले पुनःस्थापना वा निर्वाचन, दुबै स्वीकार गर्छु भनेको हुँ।’

अदालतको फैसलाले संसदीय व्यवस्थालाई थप मजबुत बनाएको उनको भनाइ थियो। ‘अदालतले राम्रो निर्णय गरेको छ। प्रजातन्त्रको जित भएको छ। न्यायको जित भएको छ’, उनले भने, ‘संसदीय व्यवस्थालाई सुदृढ गर्ने निर्णय गरेको छ। कांग्रेसका लागि खुसीको कुरा हो।’ यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस