फागुन १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई तत्काल काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा भएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आफ्नो समूहका सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै राजनीतिक भेटवार्ता र छलफललाई तिब्रता दिएका प्रचण्ड र नेपालले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराउँदै उपत्यका नछोड्न निर्देशन दिएका हुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले अतिआवश्यक परेमा जानकारी गराएर मात्र उपत्यका बाहिर जान भनिएको छ ।