फाल्गुण ०७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनुका साथै सो अवसरमा नेपाली सेनाको हेलिकोप्टर बाट राष्ट्रिय प्रजातन्त्र दिवस अङ्कित ब्यानर प्रदर्शन, पुष्प वृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवा समेत उडाइएको थियो ।
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरू प्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट लगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली सहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरू लाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरण पछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासन विरुद्ध जनताले आन्दोलन गरी रगत बगाए पछि राणा शासक जनता समक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । यस अवसरमा राज्यभर र विदेश स्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत कार्यक्रम आयोजना गरिएका छन् ।