फागुन ६, काठमाडौ । अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुग्नु भएको छ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुग्नु भएके हो ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए। अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।
‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, निवेदनमा भनिएको थियो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन भनेको थियो।
प्रधानमन्त्री ओली सर्वोच्च अदालत परिसरमा पुग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो। पत्रकारहरुलाई पनि अदालतभित्र जान दिइएको थिएन।