• २०८३ बैशाख २० गते आइतवार

शान्ति सुरक्षाको क्षेत्रमा सरकार संवेदनशील छ : मुख्यमन्त्री पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको क्षेत्रमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । बुधवार हेटौँडा–१५, रातोमाटेस्थित सशस्त्र प्रहरी गण मुख्यालयको नवनिर्मित ब्यारेक भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार शान्ति सुरक्षाका क्षेत्रमा संवेदनशील रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले शान्ति सुरक्षाका लागि प्रहरीको भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । प्रहरी संरचनाको सुदृढीकरण बिना चाहे अनुसारको सुरक्षा दिन नसकिने हुँदा प्रहरीका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । सङ्घीय सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणमा केही ढिलाइ भएता पनि अहिले करिब ४ दर्जन भवनहरू निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले अबको ३ देखि ४ महिना भित्रमा ४६ वटा प्रहरीका भौतिक संरचनाहरू निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने चरणमा रहेको र थप २१ वटा भवन निर्माणका लागि स्वीकृति प्रदान गरेर बजेट समेत विनियोजन भइसकेको उहाँले बताउनुभयो ।

मुलुकको सुरक्षाको काममा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने प्रहरी संरचनाहरू पूर्ण सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रदेश सरकारले प्रहरी प्रशासनका क्षेत्रमा कुनै कुराको कमी हुन नदिने भन्दै उहाँले जिम्मेवार भएर चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस