माघ ९, काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन राजधानी सुरू भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विरोध जुलुस निकालिएका कारण उपत्यकाका विभिन्न रूटमा ट्राफिक जाम हुनुका साथै अस्तव्यस्त देखिएको छ । विभिन्न ठाउँमा सवारी आवागमन अवरूद्ध हुँदा सर्वसाधारण तथा नियमित काममा जाने यात्रुलाइ सास्ती भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् । स्थायी कमिटी सदस्यहरुले -यालीको नेतृत्व गरेका छन् । पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत हुने नेकपाले जनाएको छ ।

जुलुसमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति रहेको छ । जुलुसपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ । यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ ।
