• २०८३ जेष्ठ ६ गते बुधवार

सर्लाहीमा तास खेलेका १४ प्रहरीलाई कारवाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, सर्लाही। सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत प्रहरी हवल्दार पुष्पजङ्ग कार्की र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारवाही गरिएको छ । उनीहरुबीच सवारी साधनलाई कारवाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारवाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस