• २०८३ कार्तिक ७ गते शुक्रवार

मन्त्रिपरिषद बैठक सम्पन्न, माघ ७ गते प्रदेशसभा बैठक बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १७, काठमाडौं। बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बस्ने भएको छ । बैठकका लागि केही बेरअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै प्रदेश सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई सिफारिस गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताएका छन् । प्रवक्ता ढुङ्गेलका अनुसार आजको मन्त्री परिषदको बैठकले प्रदेश सभाको सातौं बैठक सिफारिससहित, चितवनको राप्ति नगरपालिकालाई लिजमा जग्गा उपलब्ध गराउन स्वीकृति दिने, प्रदेश भ्रमण खर्च विधेयक–२०७७ स्वीकृत दिने र प्रदेश पर्यटन विकास सम्बन्धी विधेयक सभामा पेश गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ ।

गत पौष १० गते बागमती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ भने प्रदेशका ३ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएको अवस्था छ । राजिनामापछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय मन्त्रीविहीन नै रहेका छन् ।

आगामी माघ ७ गते हुने प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावक सांसद शालिकराम जमरकट्टेलले सभामा प्रस्ताव पेश गर्ने छन् । सो विषयमा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेमा मुख्यमन्त्री कायम नै रहने छन् । आजको मन्त्रिपरिषद बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंङ्गेलको उपस्थिति रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस