पुष ९, एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासवर्गमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्ट्रासवर्गलाई ४-० गोल अन्तरले पराजितले गरेको हो ।
पीएसजीलाई सानदार जित दिलाउनको लागि टिमोथी पेम्वेले, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र मोइस किनले गोल गरे । खेलको १८औं मिनेटमा पेम्वेलेको गोलबाट अग्रता लिएको पीएसजीले बाँकी तीन गोल अन्तिम ११ मिनेट भित्र गरेको थियो ।
७९औं मिनेटमा एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ८८औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा इड्रिसाले गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई ४(० को सानदार जित दिलाए ।
यो जितपछि पीएसजी १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानमा रहेको लियोन र लिलको समान ३६ अंक छ । पराजित स्ट्रासवर्ग १४ अंक जोडेर १७औं स्थानमा छ ।