मंसिर १७, काठमाडौँ । ठगी र चोरी मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ घाँसचोकका सकिल खान, विराटनगर महानगरपालिका–१ शान्ति चोकका लाले राय सहनी र दिपेश राय सहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सकिल खानलाई जिल्ला अदालत मोरङले २०७५ कात्तिक १९ गते ठगी मुद्दामा १५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यस्तै लाले र दिपेशलाई जिल्ला अदालत मोरङले २०७३ साल असार २४ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद र १६ हजार ४ सय १९ रूपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।