• २०८३ बैशाख २६ गते शनिवार

सरकारविरुद्धका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रमको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ८, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको भनाइ राख्नु भयो । उहाँले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उहाँले बताउनुभयो । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उहाँले बताउनु भयो ।

यस्तै आज प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिनुभयो । उहाँले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता सुवास नेम्बाङ लगायतको सहभागिता थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस