मंसिर २, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ ।
टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताउनुभयो । मिस्ट्रीसहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । दुवै आयोजनाको प्रवर्द्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरिदका लागि आवेदन आव्हान गरिएको बताउनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले शेयर हालेका हुन् । नारच्याङका श्याम पुर्जाले बैदेशिक रोजगार, गाइभैसी, भेडाबाख्रा बेचेर स्थानीयले हाइड्रोमा शेयर लगानी गरेको बताउनुभयो । पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
समग्रमा ९८ प्रतिशत काम सकिएको छ, विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।२०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०. ५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । बाँधमा पानी थुनेर परीक्षण भइसकेको छ । कूल ११५ मिटर लम्बाइ, ८।५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी क्यानल बनाइएको छ ।
नबिल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी गरेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स निर्माण अनुमति दिएको थियो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । त्यस्तै ५ मेगावाटको घलेम्दीखोलाले गत माघदेखि उत्पादन शुरु गरेको छ ।