कात्तिक २८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए ।
नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए । गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए ।
यसअघि बहुमत सचिवालयका सदस्यले अनौपचारिक बैठक बसेर पछिल्लो राजनीतिबारे छलफल गर्नुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीले बैठकका लागि सहमति नजनाएपछि बहुमत सचिवालय सदस्यहरूले बिहीबार औपचारिक बैठक गर्ने निष्कर्षमा पुगेका बेला अन्ततः प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहाल–नेपाल समूहबीच मतभेद बढ्दै गएपछि विवाद चर्किएको छ ।
पार्टीभित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने प्रयाससमेत यसबीचमा भएको थियो । दुवै समूहले आन्तरिक गृहकार्यका साथै छुट्टाछुट्टै गुटगत बैठक, भेला तथा सभा गर्न थालेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएपछि दाहाल–नेपाल समूहले आन्तरिक तयारीका लागि बिहीबार छलफल गरेका छन् । दाहाल निवास खुमलटारमा भएको छलफलमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठ सहभागी भएको नेकपा स्रोतको दाबी छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले समेत बालुवाटारमा आफू निकटका नेताहरूसँग बैठकको रणनीतिबारे छलफल गरेका छन् । बालुवाटारमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवं अर्थमन्त्री पौडेललगायतका नेतासँग ओलीलले छलफल गरेका छन् । नेकपा स्रोतका अनुसार दुवै समूहले एक अर्काविरुद्ध खरो रूपमा उत्रिने आन्तरिक तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा दाहाल–नेपाल समूहले सहयोग नगरेको, सधैं असहयोग गर्दै पार्टीभित्रबाटै प्रतिपक्षी दलको जस्तो भूमिका र व्यवहार गर्दै आएको, दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी सञ्चालन राम्रोसँग नगरेको आरोप लगाउँदै आएका छन् । दाहाल–नेपाल समूहले ओलीमाथि पार्टी र सरकार सञ्चालनमा असफल भएको, पार्टी निर्णय कार्यान्वयन नगरेको, सरकार सञ्चालन मनोमानी गरेको, राजनीतिक नियुक्ति आफूखुसी गरेको, आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा हत्याराको संरक्षण गरेकोलगायतका आरोप लगाउँदै आएका छन् ।
नेकपा स्रोतका अनुसार शुक्रबारको बैठकसमेत यही मुद्दामा केन्द्रित भई छलफल अगाडि बढ्ने र दुवै समूहबीच चर्काचर्की हुन सक्नेछ । सचिवालयमा अल्पमतमा भए पनि ओलीले पेलेरै जाने बताइएको छ । यस्तै बहुमतमा रहेका दाहाल–नेपाल समूहसमेत ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारी गरेका छन् । यो समाचार आजको राजभानी दैनिकमा रहेको छ ।