• २०८३ जेष्ठ ४ गते सोमवार

पोखरामा पेट्रोलियम भण्डारण गृह बनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २७, कास्की । नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ ।

भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौँडामा निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिनेछ । ७७ करोड ७७ लाख रुपैयाँको लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ । हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि सुरु भएको पनि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताउनुभयो । पोखरा डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने उहाँको विश्वास छ । भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दैछ ।

प्रादेशिक डिपोबाट अहिले दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक हप्तामा २० किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको अहिलेको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टितेल ७६० किलोलिटर रहेको छ ।

डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुनेछ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० टयाङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस