कार्तिक २४, काठमाडौँ । नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुनाको परीक्षण सुरु भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना रगत संकलन गरेको थियो ।
महाशाखाका निर्देशक डा। वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको दरले तीन हजार १५० जनाको दसैंअघि नै नमुना संकलन गरिएको जानकारी दिए । उनका अनुसार सातैवटा प्रदेशमा प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ । महाशाखाका अनुसार विदेशबाट आएको चार साता भएका र पाँच वर्षमाथिका उमेर समूहका व्यक्ति नमुना लिइएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाका अनुसार विश्व स्वास्थ्य संगठनले रि एजेन्ट गत साताको अन्तिममा दिएको थियो अहिले परीक्षणको कार्य भइरहेको छ ।