कार्तिक १७, काठमाडौँ । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो। उपचारका सबै उपायहरु गर्दा गर्दै सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए ।
त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए । त्यस्तै सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।
धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइसकेको उनले बताए ।