कार्तिक १६, काठमाडौँ। भर्चुअल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ ।
नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितेको हो । पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जिते । उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरे ।
महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरे । यसैगरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरे ।