असोज ५, काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । संसदको विकास तथा प्रविधि समितिले २०७७ कात्तिक ७ गतेभित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् ।समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।