• २०८३ जेष्ठ ३० गते शनिवार

संविधान राष्ट्र निर्माणको आधारस्तम्भः मुख्यमन्त्री राई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र भूगोलका जनतालाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यममात्र नभएर राष्ट्र निर्माणको आधारस्तम्भ भएको बताएका छन् ।संविधान दिवस–२०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज भएको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, “नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ ।” मुख्यमन्त्री राईले यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको उल्लेख गर्दै बताएका छन् ।

“समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश सरकार क्रियाशील छ । यही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ”, उनले सन्देशमा भनेलका छन्, “यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुनेमा कुनै शङ्का छैन । यसका लागि समाजका सबै वर्ग, समूह, पेशा, क्षेत्रको सहकार्य आवश्यक छ ।” मुख्यमन्त्री राईले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस