भदौ ३१ , सल्यान । सल्यानमा पहिलो पटक ठुलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । मंगलबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ३४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
संक्रमित ३४ जना मध्ये ३३ जना बनगाड कुपिण्डे नगरपालिकाका मात्र रहेका छन् । भारतको नासिकबाट घर फर्कि बनगाड क्याम्पसको क्वारेनटाइनमा बसेका ५६ जनाको पिसिआर परीक्षण गर्दा ३३ जनाको रिर्पोट पोजेटिभ आएको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोख्रेलले जानकारी दिए । संक्रमित सबैलाई बनगाड कुपिण्डेको आइसोलेसनमा राखिएको छ । यस्तै कुमाख गाउँपालिका वडा न ३ का २४ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । भारतका गुजरातबाट आएका उक्त व्यक्ति होम क्वारेनटाइनमा बस्दै आई रहेका थिए । दश स्थानीय तह रहेको सल्यानमा सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकामा २ सय २१ जना संक्रमित रहेका छन । कुमाख गाउँपालिकामा ४१ रहेका छन् ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुगेको छ । संक्रमित मध्ये ३ सय निको भएर डिस्चार्ज भई सकेका छन् । बाँकी ४० जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।