भदौ २४, काठमाडौँ । नेपाल पर्यटन बोर्डले गौतमबुद्धको जन्मस्थललाई पर्यटकीय उपजकारुपमा विकास र प्रवर्द्धन गरी पर्यटक भित्र्याउने योजना बनाउन समिति गठन गरेको छ । बुद्धिष्ट पर्यटन प्रवर्द्धन समिति नाम दिइएको यो समिति बोर्डका सीइओ डा. धनन्जय रेग्मीको संयोजकत्वमा गठन भएको हो । समितिको सहसंयोजक निजी क्षेत्रबाट विक्रम पाँडेलाई तोकिएको छ । बोर्डका अनुसार नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बुद्धको जन्मस्थलसम्म पर्यटक आयोजना योजना बनाउन यो समितिले काम गर्नेछ । यसबाहेक स्थलमार्गबाट लुम्बिनीमा अधिक संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना बारे खोजी गर्ने बोर्डले जनाएको छ ।

समितिमा बौद्ध धर्मसँग सम्बन्धित सरोकारवाला निकायसँगै वरिष्ठ पर्यटन तथा होटेल व्यवसायीलाई समेत राखिएको छ । डा। सन्दुक रुइत, होटेल व्यवसायी अम्बिका श्रेष्ठ र कर्ण शाक्य, बुद्घ धर्म संस्कृतिका अध्यता प्रा।डा।रमेश ढुङ्गेललगायत समितिमा सदस्य छन् । लुम्बिनी विकास कोषले समेत समितिमा सक्रिय रुपमा काम गर्नेछ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बजारहरुमा प्रचार प्रसारको मोडालिटी बनाउने जिम्मेवारी समेत समितिले पाएको हो ।