भदौ २०, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको दावी गर्नुभएको छ । अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहुँदै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ ।अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी दिनुभयो ।