भदौ १९, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ मा रहेको व्यक्तिगत जग्गामा नगरपालिकाको डोजर प्रयोग गरि अनियमितता भएको पाइएको छ । नगरपालिकामा हुने विकास निर्माण र आकस्मिक कार्यका लागि प्रयोग हुदैं आएको डोजर व्यक्तिगत जग्गामा प्रयोग गरि फुटबल मैदान बनाउन लागिएको हो ।

तारकेश्वर नगरपालिकाले आफ्नो नगरपालिकाको क्षेत्रमा कहि कतै सडक अवरोध आएमा प्रयोग गर्न किनेको डोजर बाटो बन्द भएमा, पहिरो आएमा वा नगरपालिकाको विकास निमार्णमा प्रयोग हुदैं आएकोमा लकडाउनको बिचमा व्यक्तिगत जग्गामा फुटबल मैदान बनाउने उधारो सम्झौतामा प्रयोग गरिएको हो । तारकेश्वर नगरपालिकाको सवभन्दा ठुलो वडा रहेको साबिकको जितपुरफेदी गा.वि.सको तिनपिप्लेबाट फेदी जाने खण्डमा उक्त कार्य गर्न लागिएको हो । जितपुरफेदी कै पुरानो बाटोको रुपमा रहेको तिनपिप्ले फेदी मोटरबाटोमा विगत ४- ५ महिना देखि मोटर, मोटरसाइकल सञ्चालन समेत हुन नसकिरहेको अवस्थामा समेत प्रयोगमा नल्याइएको डोजर व्यक्तिगत जग्गामा फुटबल मैदान बनाउन प्रयोग हुनाले नगरपालिका हुनेखानेको मात्र हो की भन्ने प्रश्न खडा भएको छ ।

फुटबल मैदान बनाउन प्रयोगमा आएको डोजरका बारे नगरपालिकाको मेयर रामेश्वर बोहोरासँग जानकारी लिदाँ उहाले यसबारेमा जानकारी नभएको र थाहा पाउने बित्तिकै डोजरलाई काम गर्न बन्द गराईएको जानकारी दिनुभयो । यस्तै यो बारेमा जानकारी लिन तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेलसगँ जानकारी लिदाँ उहाँले पनि नगरपालिकाको विकास निमार्ण र यहा आउने विपतमा नगरपालिकाको डोजर प्रयोग हुने गरेकोमा अहिले के भएको हो जानकारी लिने र नगरपालिकाको सार्वजनिक सम्पती व्यक्तिगत जग्गामा फुटबल मैदान बनाउने नाममा प्रयोग गर्न नहुने बताउदैं नगरपालिकाले सत्यतथ्य सार्वजनिक गर्ने बताउनु भयो ।

तारकेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोहरी तिवारीसगँ यस बारेमा जानकारी लिदाँ उहाँले जग्गाधनीले फुटबल मैदानका रुपमा प्रयोग गर्नु भनेकाले डोजर लगाएको बताउनु भयो । नगरपालिकाको डोजर कहाँ कसलाई कुनबेला पठाउने जिम्मेवारी बोकेका पुर्णकाजी मर्हजनलाई यसबारेमा बुझ्दा उहाँले नगरपापालिकाले तारकेश्वर नगरपालिका वडा नं. ३ मा बाटो बनाउन भनि वडा अध्यक्षले माग गरे बमोजिम पठाएकोमा व्यक्तिगत जग्गामा फुटबल मैदान बनाउन प्रयोग गरेको बारे आफुलाई जानकारी नभएको बताउनु भयो ।
स्थानिय तहमा राज्य गइसकेपछिको अवस्थामा यसरी राज्यको सम्पती दुरुपयोग बढ्दै गइरहेका अवस्थामा मानिसको संघियता प्रतिको विश्वास टुट्दै गएको पाइन्छ । सक्नेले जे गरेनि हुने मनोस्थितीको विकास भएको पाइन्छ ।
लकडाउन, निषेधाज्ञाको अवस्थामा राज्यले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिरहदा फुटबल मैदान त्यो पनि व्यक्तिगत जग्गामा यसको जिम्मेवार को ? तिनपिप्ले फेदी सडक लामो समयदेखि सुचारु नहुदाँ मौन रहने स्थानिय सरकार यस्ता कुरामा किन यति हतारमा ? तिनपिप्ले चोगाउ सडकमा मोटरसाइकल समेत गुडाउदा समस्या रहदाँ स्थानिय सरकार किन मौन ? यि र यस्ता धेरै प्रश्न चिन्हहरुको बिच तारकेश्वर नगरपालिकाका जिम्मेवार जनप्रतिनिधीहरुले यसका बारेमा के जवाफ दिन्छन यो हेर्न बाकी नै छ ।