भदौ १२, चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुईंटेल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिए । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखी नक्कली खाता खोलि महिलालाई साथी बनाई ईटाली, अमेरिका, अष्टे«लिया, सिङ्गापुर, फ्रान्सजस्ता देशबाट बोलेको भनि उपहार पठाईदिने भनि पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै सोही मुद्दामा अन्य छ जना फरार रहेको र खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।