• २०८३ जेष्ठ २९ गते शुक्रवार

बाँके जिल्लामा शिल एरियामा नेपाली सेनाको निगरानी सुनसान सडक

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५, बाँके । नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेपछि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्र शिल गरिएको हो । सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शिल गरिएको हो ।

शिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । साथै हिंड्डुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । यसका साथै प्रशासन कार्यालयले गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि समेत बढाएको छ । आगामी मंगलबारसम्म निषेधाज्ञा लम्ब्याइएको छ । गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि हिजो समाप्त हुँदै थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस