जेठ १८, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्नु भएके हो । संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन ।
सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागिएको हो । संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ ।
संशोधन विधेयक पस्तुत गर्दै मन्त्री तुम्बाङ्फेले भन्नुभयो –‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिक व्यवस्था भएको बमोजिक नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनीक नक्सा स्वीकृत गरी नेपालको बास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसुची ३ को निशान छापभित्र अंकित नेपालको नक्सा नेपालको बास्तविक सीमा अनुरुप मिलाउनुपर्ने भएकोले अनुसूची ३ मा संशोधन गर्नुपर्ने यो विधेयक पेस गर्दछु ।’