• २०८३ बैशाख ३१ गते बिहिवार

बाँकेमा सेना सडकमा, अनावश्यक हिड्नेलाई कार्वाही गर्ने

अनावश्यक निस्केकालाई रातभरी थुन्ने रणनीति
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

चैत १४, बाँके । बाँकेमा अनावश्यक बाहिर निस्किनेलाई ठाउँको ठाउँ कार्वाही गर्न नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली एरिया विभाजन गरेर एक्सनमा उत्रिएको छ । जति नै सम्झिाए पनि अनावश्यक बाहिर निस्किने क्रम नरोकिएपछि तीन वटै सुरक्षा निकायको अधिकृतस्तरको नेतृत्वमा कारबाही टोली खटाइएको हो ।

दुई जनासम्मलाई अत्यावश्यक बस्तु किन्न निस्किन दिने र अनावश्यक निस्केकालाई रातभरी थुन्ने रणनीति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सम्झाउदा नमानेकाले बल प्रयोगमा उत्रिएको बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले घर बाहिर ननिस्किन फेरि पनि साढे ५ देखि ६ बजेसम्म माइकिङ गर्दैछ । त्यसका बाबजुद घरबाट बाहिर निस्किनेलाई कारबाही गर्ने रणनीति बनाइएको छ । ‘अवज्ञा गर्नेलाई अब कारबाही हुन्छ, समातेर मुद्दासम्म चलाउँछौं, एसपी बीरबहादुर ओलीले भन्नुभयो, कुनै बन्द खुलेजस्तो साँझ भएपछि सडकमा रमिता हेर्न, पान खान, घुम्न निस्किने गरेको पाइयो । आजदेखि त्यस्तालाई कारबाही हुन्छ ।’

प्रहरीले सवारी साधनलाई निषेध गर्दैछ । खाद्यान्न किन्न एकदुई जना हिडेर जान सक्छन् । आज बसेको सुरक्षा समितिको बैठकले नेपाली सेनालाई ब्याक सपोर्टमा राख्दै एरिया विभाजन गरेको छ । जमुनाहादेखि ट्राफिकचोक र कारकादोदेखि राँझासम्म सशस्त्र प्रहरी र बाँकी सबै ठाउँमा नेपाल प्रहरीले कमाण्ड गर्दैछ । अधिकृतस्तरले कमाण्डमा रहेको टोलीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई कारबाही गर्छ । अटेरीलाई रातभरी थुन्छ र मुद्दासमेत चलाउँछ ।

दिनभरी घरभित्रजसो बस्ने गरेका मान्छेहरु साँझ परेपछि बजारमा निस्किदा कोरोनाको जोखिम बढाएको सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस