मंसिर ११, भोजपुर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ । प्राधिकरणले विद्युतीकरण पुग्न सकेको जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, गैरीगाउँमा विद्युतको पहुँच पुर्याएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गत ११ केभी प्रशारण लाइनबाट २५ घर परिवारमा विद्युत लाइन बल्न सुरु भएको प्राबिधिक कर्मचारी काजीमान राईले जानकारी दिए ।
उनले प्राधिकरणबाट लगेका २५ मिटर स्थानीयको घरमा जडान भई सकेको बताए । त्यहाँ नयाँ ट्रान्सफरमर जडान गरी विद्युत सेवा सुचारु गरिएको हो ।
विद्युतको पहुँच पुगेसँगै स्थानीयले खुशी महशुस गरेका छन् । ‘गाउँमा अहिले बिजुली पुगेपछि झिलिमिली भएको छ, बर्षौदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको छ,’ स्थानीय भद्र कुमारी सार्कीले भनिन् ।
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरणले ग्रामीण क्षेत्रहरुमा पूर्ण विद्युतीकरणका लागि टेण्डर प्रक्रिया मार्फत कामहरु हुने गरेको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख निरज कुमार साहले विद्युतीकरण हुन बाँकी रहेका पालिकाका नागरिकहरुलाई पनि बिजुली पुर्याउन प्राधिकरणले काम गरिरहेको बताए ।
भोजपुरका नौ वटा स्थानीय तहमध्ये आमचोक र साल्पासिलिछो क्षेत्रमा पूर्ण विद्युतीकरण हुन बाँकी छ । भोजपुरमा हाल ३३ तथा ११ केभी राष्ट्रिय प्रशारण लाइनबाट ३२ हजार बढी घरधुरीले विद्युत सेवा उपयोग गरिरहेका छन् ।