मंसिर ९, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहे तापनि तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । राति देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । भोलि बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।