• २०८३ मङ्सिर ९ गते मङ्गलवार

बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’

भेषराज कार्की पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ८, काठमाडौं । गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन । सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् ।

बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४ गतेदेखि प्रदर्शन भएको फिल्मले मङ्सिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँको कमाइ मात्र गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन् ।

पहिलो फिल्म ‘खुस्मा’ को सफलता पश्चात सोही टिममार्फत निर्माण भएको फिल्म बक्सअफिसमा कम्जोर देखिएको हो । ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रुपमा प्रदर्शन भएको ‘हिमालयन गोल्ड’ को अवस्था बक्स अफिसमा दयनीय देखिएको छ । धिराज राजवंशी निर्देशित फिल्मले घरेलुबजारबाट मङ्सिर ७ गते सोमबारसम्म ८ लाखको हाराहारीमा मात्र कमाइ गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको १ हजार ७६६ वटा टिकट मात्र बिक्री भएका छन् ।

फिल्ममा दिवंगत अभिनेता थापासँगै राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा, कार्म लगायतको अभिनय रहेको छ । यी दुवै फिल्मको पहिलो विकेन्डको कमाइ हेर्दा आगामी साता झनै कठिनाई सामना गर्नु पर्ने देखिन्छ ।

यी बाहेक प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’ ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँको कमाइ घरेलुबजारमा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस