• २०८३ मङ्सिर ९ गते मङ्गलवार

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् ।

अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए । रैथाने बोटबिरुवा, प्राणी तथा चराचुरुङ्गीको संरक्षण, रैथाने बालीको उपलब्धता, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण दिगो उपाय भएको उनको भनाइ थियो ।

उनले संघ र प्रदेश सरकारबाट स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके दिगो नतिजा हासिल गर्न सकिने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री थापाले काठमाडौं महानगरपालिकाले सुरु गरेको अभियानले देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको अभियान विस्तार हुने अपेक्षा व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभावका समस्या बढ्दै गएकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम थाल्नुपर्ने बताइन् ।

‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नुपर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ,’ उनले भनिन् ।

उनले महानगरपालिका कार्यालय, वडा कार्यालय तथा विद्यालयहरूमा पनि पुनःभरण प्रणाली निर्माण गरिने जानकारी दिइन् । सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले रिचार्ज प्रणाली निर्माण गरिदिने उनको भनाइ थियो ।

डंगोलले यो अभियान कार्यवाहक प्रमुखको हैसियतमा मात्र नभई साझा पृथ्वीको जिम्मेवार नागरिकका रूपमा सुरु गरिएको पनि बताइन् ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको उनले जानकारी दिए । उक्त योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ ।

राईका अनुसार रिचार्ज पिट निर्माणका लागि २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ । खाल्डोको तल्लो ९ फिट भागमा ढुङ्गा, त्यस माथिको ७ फिट भागमा २० देखि ४० एमएमका गिट्टी, एक फिट भागमा बालुवा राखिनेछ । त्यसपछि पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिने र अन्त्यमा कभर लगाइनेछ ।

महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस