• २०८३ मङ्सिर ९ गते मङ्गलवार

प्रधानमन्त्रीको भारत भ्रमण : सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

मंसिर ८, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सन्तुलनको राजनीति र विशवासिलो कुटनीतिलाई अघि बढाउने प्रयासमा सम्पन्न भएको छ । प्रधानमन्त्री शाहको भ्रमणमा दुवै देश राजनीतिक रुपमा स्थापीत सम्बन्धमा एक हदसम्म टक्क अडिएको छ । यहाँबाट अघि बढ्न दुवैपक्षबाट जनाईएका प्रतिबद्धता के के र कति कार्यान्वयन भए भन्ने विषयले आगामी दिनमा सम्बन्ध कस्तो हुनेछ भन्ने तय हुने देखिन्छ । यस पटक अघिल्ला संस्करण मध्ये राजनीतिक संवाद र परराष्ट्र सम्बन्धलाई स्थापित गर्न सन्तुलित प्रयास भएको छ ।

यसपटकको भ्रमणमा भारतको सुरक्षा संयन्त्र प्रत्यक्ष रुपमा सहभागी देखिएन् । प्रधानमन्त्री शाहका भेटघाट राजनीतिक र सरकार प्रमुखको स्तरका भएका छन् । दुई पक्षीय भेटघाटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल देखिएन् । परराष्ट्र विभाग र राजनीतक नेतृत्वबीच भएको भेटघाट र छलफलले दुई देश बीच राजनीतिक सम्बन्धलाई महत्वका साथ स्थापित गरेको देखिन्छ ।

विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको छ । राष्ट्रवादका नाममा छिमेकीसँग वादविवाद भन्दा पनि विद्यमान समस्यालाई आपसी सहमति र समझदारीमा निष्कर्षमा पुर्याउने प्रयास भएको बुझिन्छन् ।

नेपालमा आईआईटीको शाखा खुल्ने, नेपाल र भारतका शहर बीच हवाई सेवा, रेल सेवा र आर्थिक सहायताको कार्यक्रमले प्राथमिकता पाउनु भ्रमणको सकारात्मक पक्ष हो । उपलब्धिका रुपमा अत्यन्तै ठुलो उपलब्धि नभए पनि चुकेको पनि उति खास देखिएन् । मुलतः दुवै प्रधानमन्त्रीबीचको बडी ल्याङ्गवेज र विश्वासको वातावरण बनाउने कडीका रुपमा हेर्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घनिष्ठ मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता जनाएका छन् । दुवै प्रधानमन्त्रीले ’विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोण सार्वजनिक हुनु सकारात्मक पक्ष हो । संयुक्त दृष्टिकोणसम्बन्धी वक्तव्यले भारत र नेपालबीचको सम्बन्ध विश्वासको वातावरण बनाउन सहयोग गरेको छ।

आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरूले मजवुत साथ पाएको देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउन सहमत भएको थपफ सकारात्मक विषय हो ।

नेपालका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी)तथा पेट्रोलियम पाइपलाइन स्थापनाका लागि गरिएका प्रतिबद्धताहरु स्रहानिय छन् । त्यसका अलावा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका विषयलाई सम्बोधन भएका छन् । दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीचको सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेपछी धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको छ । दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल (स्याटकम)स्थापना गर्ने विषयमा समझदारी कायम हुनुले पनि नेपाललाई अवसर प्राप्त भएको दखिन्छ ।

यी र यस्ता विषयहरु अहिलेको टड्कारो आवश्यकता हो । दुवै देशका प्रधानमन्त्रीद्वय शाह र मोदीका भेटमा भारतीय पक्षबाट त्यहाँका पावरफुल राष्ट्रिय सुरक्षा सलाहकार र अन्य इन्टेलिजेन्स एजेन्सीको प्रत्यक्ष सहभागिता देखिएन् । यसर्थ, भ्रमण आपसी विश्वास र राजनीतिक तहमा त्यसलाई विस्तार गर्न परराष्ट्र स्तरमा केन्द्रित भएको सकारात्मक पक्ष हो ।

जेनजी मुभमेन्टबाट सत्तामा पुगेका प्रधानमन्त्री शाहसँग भारतले पनि पुरातन खुफिया स्कूलिङलाई बदल्दै युवा सोंचलाई सम्मान गर्न खोजेको अनुभुति गर्न सकिन्छ । नेपाल भारत सम्बन्धका कैयौं आयाम छन् । सन्धि, सम्झौता र सहमतिका अग्ला पर्खाल भित्र अविश्वसाको बढ्दो खाडललाई बढावा नदिएर सौम्य र सौहाद्रपुर्ण द्विपक्षीय सम्बन्ध अघि बढाउने दुवै देशबाट भएका प्रयासहरु भविष्यको सम्बन्धलाई मजवुद गर्न आशावादी देखिन्छन् । पुराना डक्ट्रिन र आधारहरुका सकारात्मक पक्षलाई अनुसरण गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि यो भ्रमण अर्थपुर्ण भएको देखिन्छ । त्यसमाथि दुवै प्रधानमन्त्रीबीच भएको वान अन वान कुराकानीमा द्विपक्षीय सम्बन्ध अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषयमा भएका अर्थपुर्ण छलफलले उत्साह थपेको देखिन्छ। निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने आधार समेत तय भएको बुझ्न सकिन्छ ।

देश भित्रको उग्र राष्ट्रवादको छाँया र भारतीय पक्षको माइक्रो म्यानेजमेन्टको उत्कण्ठालाई यसपटकको भ्रमणले सफा गरेको समेत बुझ्न सकिन्छ । राजनीतिक तहमा दुई नेताहरुको समझदारीलाई दुवै देशका नागरिक तहसम्म सञ्चार गराउँदै द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने भ्रमण फलदायी देखिन्छ । यद्यपि, यस अघि प्रधानमन्त्री शाहले व्यक्त गर्ने राष्ट्रवादको शैली र भारतीय पक्षको डोमिनेट डिप्लोमेसीले मान्यता नपाएको अर्थमा समेत व्याख्या गरिनुपर्छ ।

बदलिंदो वैश्विक शक्ति सन्तुलन,उर्जा संकट,युद्धको विश्व परिवेश र डाटामा भईरहेका वैश्विक उतारचढावको राजनीतिक संकटलाई दुवै नेताहरुले मिहिन ढङ्गले छलफल गरेको बुझिएको छ ।

समग्रमा भन्नुपर्दा धेरै ठुलो उपलब्धि त्यति नभएपनि विश्वासको सम्बन्ध स्थापित गर्न प्रधानमन्त्री शाहले प्रयास गरेको लेख्न सकिन्छ । विरोधका लागि विरोध गर्नलाई त थुप्रै कमी कमजोरी उपलब्ध छन तर भ्रमणबाट नेपाललाई क्षति पुगेको अवस्था रहेन् । (सन्चारकर्मी एवम लेखक उपाध्याय राजनीतिक विश्लेषणमा पनि रुचि राख्दछन)

Sharing

प्रतिक्रिया दिनुहोस