• २०८३ मङ्सिर ५ गते शुक्रवार

आज हरिबोधिनी एकादशी, भगवान बिष्णु जाग्राम हुने दिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर ४, काठमाडौं । आज हरिबोधिनी एकादशी, जसलाई ठूलो एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । याे हिन्दू धर्मालम्बीहरूको एक अत्यन्तै महत्त्वपूर्ण पर्व र व्रत हो। यो पर्व हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइन्छ। विक्रम संवत् २०८३ मा यो पर्व मंसिर ४ गते, शुक्रवार परेको छ।

पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) पूरा गरी यसै दिन बिउँझनेछन । भगवान् विष्णु जागा हुने भएकाले नै यसलाई ‘हरिबोधिनी’ भनिएको हो। आषाढ शुक्ल एकादशीका दिन घरघरमा सारिएको तुलसीको मठलाई यस दिन विशेष रूपमा सिँगारेर भगवान् विष्णु (दामोदर) सँग विवाह गरिदिने परम्परा छ। यस दिन तुलसीको पूजा गर्नाले रोगव्याधि नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।

अर्काे पौराणिक मान्यताअनुसार जलंधर नामका दानवकी पत्नी ‘वृन्दा’ (तुलसी) अत्यन्त पतिव्रता थिइन्। उनको भक्तिको प्रभावले देवताहरू पनि पराजित भएका थिए। पछि भगवान् विष्णुले छलपूर्वक वृन्दाको पतिव्रता धर्म भङ्ग गरिदिए पछि जलंधरको वध भयो। सत्यको रक्षाका लागि यो रूप धारण गर्नुपरेकोमा पश्चात्ताप गर्दै भगवान् विष्णुले वृन्दालाई “तिमी मलाई प्रिय छौ र आगामी जन्ममा तुलसीको रूपमा पूजा पाउनेछौ, म विना तिम्रो पूजा अधुरो हुनेछ” भनी वरदान दिएका थिए ।

आषाढ शुक्ल एकादशीका दिन (हरिशयनी) घरमा रोपेको तुलसीको बोटलाई कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) का दिन पूर्ण रूपमा परिपक्व मानी भगवान् विष्णु (शालिग्राम) सँग विवाह गरिदिने चलन छ। यस दिन तुलसी विवाह सम्पन्न गर्नाले कन्यादान बराबरको ठूलो पुण्य फल प्राप्त हुने जनविश्वास छ

एकादशीको बिहानै सूर्योदयपूर्व उठेर पवित्र नदी, जलाशय वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ र व्रतको संकल्प लिइन्छ। तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी फूलमाला, रङ्गोली र तोरणले सजाइन्छ। मठको नजिकै उखु गाडेर मण्डप बनाइन्छ र भगवान् विष्णु तथा तुलसीको विधिपूर्वक पूजा गरिन्छ।

यस दिन अन्न (विशेषगरी चामल) ग्रहण गरिँदैन। व्रतालुहरूले दिनभर निराहार वा फलाहार (सखरखण्ड, पिँडालु, तरुल, फलफूल, दूध आदि) ग्रहण गर्छन्। भगवान्‌लाई नैवेद्यका रूपमा सखरखण्ड, पिँडालु, उखु, बदाम, अम्बा आदि चढाउने चलन छ। दिनभर विष्णु सहस्रनाम पाठ गर्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ।

तुलसी विवाहको पूजा गर्ने विधि
मण्डप सजावट: विवाहको दिन घरको आँगन वा तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरेर सफा गरिन्छ। मठको चारैतिर उखुका चारवटा बोट गाडेर सुन्दर मण्डप बनाइन्छ र त्यसमा फूलमाला तथा तोरण टाँसिन्छ। तुलसी र शालिग्रामको शृङ्गार: तुलसीको बोटलाई रातो वा पहेँलो चुनरी (पछ्यौरा) ओढाइन्छ र त्यसमा पोते, चुरा, सिन्दूर तथा सौभाग्यका सामग्रीहरू चढाइन्छ। साथै, शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीक मानेर पञ्चामृतले स्नान गराई पहेँलो वस्त्र र चन्दन लगाइदिइन्छ।

कन्यादान र परिक्रमा: तुलसीलाई लक्ष्मीको र शालिग्रामलाई विष्णुको स्वरूप मानी विधिपूर्वक संकल्प गरिन्छ। पहेँलो धागो वा कपडाले उनीहरूबीच गठबन्धन जोडिन्छ र मण्डपको चारैतिर घुमाएर (परिक्रमा गरेर) विवाह सम्पन्न गरिन्छ।

आरती र प्रसाद: विवाह सम्पन्न भएपछि वैदिक मन्त्रोच्चारणका साथ पूजा, हवन, आरती गरिन्छ र घरपरिवार तथा इष्टमित्रलाई सखरखण्ड, पिँडालु, उखु र मौसमी फलफूलको प्रसाद वितरण गरिन्छ।

तुलसी विवाह सम्पन्न भएसँगै हिन्दू समाजमा औपचारिक रूपमा बिहेव्रतबन्धलगायतका शुभ तथा मांगलिक कार्यहरूको बाटो खुल्ने (मुहूर्त सुरु हुने) जनविश्वास रहिआएको छ। नेपालमा हरिबोधिनी एकादशीका दिन विभिन्न विष्णु मन्दिरहरूमा ठूलो मेला लाग्दछ । काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायण) तथा बूढानीलकण्ठ मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्छ। साथै, पाल्पा र गुल्मीको संगमस्थल रिडी (रुरुक्षेत्र), देवघाट, वराहक्षेत्र लगायतका तीर्थस्थलहरूमा स्नान गर्ने र फूलको तोरण तार्ने भव्य मेला लाग्छ।

एकादशीको भोलिपल्ट अर्थात् द्वादशीका दिन बिहान स्नान गरी पुनः तुलसी र भगवान् विष्णुको पूजाआजा गरेर ब्राह्मण वा दीनदुःखीलाई दानदक्षिणा दिएपछि मात्र अन्न ग्रहण गरी व्रत समापन (पारण) गरिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस