कात्तिक २४, काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११३औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका विभिन्न समूह, भ्रातृ तथा शुभेच्छुक संस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले कार्यक्रम आयोजना गरेका हुन् ।

नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा परिचित सिंहले राणा शासन अन्त्यदेखि प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १९९७ सालमा प्रजा परिषद्मा आबद्ध भई राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भएका उनी जेलसमेत परेका थिए ।
२००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाबाट सशस्त्र संघर्ष गरेका सिंह २०१५ सालमा गठित सरकारमा वरिष्ठ मन्त्री बनेका थिए । २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले आठ वर्ष जेल जीवन बिताएका थिए ।
२०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको नेतृत्व गरेका सिंहले प्रजातन्त्र पुनःस्थापनामा निर्णायक भूमिका खेलेका थिए । आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावसमेत अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए ।
नेपाली राजनीतिमा त्याग र निःस्वार्थ सेवाको उदाहरण बनेका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।