• २०८३ कार्तिक २२ गते शनिवार

यममार्गमा भय नहोस् भन्ने विश्वाससहित कागको पूजा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २१, काठमाडौं । आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ ।

धर्मशास्त्रअनुसार कागलाई यमराजको दूत मानिन्छ । यमराजले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने तथा त्यससम्बन्धी सन्देश आदानप्रदान गर्ने जिम्मेवारी कागलाई दिएको धार्मिक मान्यता छ । त्यसैले कागलाई शुभ तथा अशुभ समाचारको सूचकका रूपमा पनि लिने गरिन्छ ।

काग तिहारका दिन कागलाई घरआँगनमा बोलाएर खानेकुरा दिने र पूजा गर्ने चलन छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले काग तिहार धार्मिक आस्थासँगै प्रकृति र जीवप्रतिको सम्मानसँग जोडिएको पर्व भएको बताए ।

उनले काग हिन्दु धर्मावलम्बीका लागि मात्र नभई प्रकृतिसँग जोडिएको साझा पक्ष भएको उल्लेख गर्दै भने, ‘काग केवल हिन्दु धर्मको लागि मात्र होइन, हरेकको लागि प्रकृतिको हो । वास्तवमा हाम्रो सनातन वैदिक धर्म भनेको प्रकृतिको पूजा गर्ने पर्व हो । हामी कुशे औँसीमा कुशको पूजा गर्छौँ, नागपञ्चमीमा नागको पूजा गर्छौँ । त्यस्तै तिहारमा कागको पूजा गर्छौँ ।’

उनका अनुसार पुराणहरूमा कागलाई यमराजको दूतका रूपमा वर्णन गरिएको छ । यममार्गमा जाँदा कागलगायतका पक्षीले दुःख नदिऊन् र यात्रा भयमुक्त होस् भन्ने धार्मिक विश्वासका आधारमा कागलाई बलि दिने तथा पूजा–अर्चना गर्ने परम्परा रहेको उनले बताए ।

ढकालले कागलाई शुभाशुभ समाचारको सूचकका रूपमा लिने सामाजिक तथा सांस्कृतिक मान्यता पनि रहेको उल्लेख गरे । ‘काग कसैको घर अगाडि आएर करायो भने यसले कुनै न कुनै समाचार लिएर आयो भन्ने गाउँघरमा चलन छ । अझ शुभ समाचारभन्दा पनि अशुभ समाचार सुन्नुपर्ने हो कि भन्ने खालको मान्यता छ,’ उनले भने ।

उनका अनुसार प्राचीन ग्रन्थ बृहत् संहितामा वराहमिहिरले कागको चेष्टा र कराइका विषयमा विस्तृत व्याख्या गरेका छन् । कागको आवाज र व्यवहारबाट विभिन्न संकेत प्राप्त हुने विश्वास रहे पनि मानिसले उसको भाषा बुझ्न नसकेको उनले बताए ।

कागको चलाखी र सतर्कताबाट मानिसले पनि सिक्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘नीतिशास्त्रले पनि काकचेष्टा अर्थात् कागको जस्तो चेष्टा गर्नुपर्छ भनेर बताएको छ । त्यो चलाखीपन ममा आओस्, सबै कुरा बुझ्न सकूँ भनेर पनि कागको पूजा गर्ने हो । एउटा यममार्गमा भय नहोस् भनेर गर्ने धार्मिक तथा पौराणिक मान्यता छँदैछ । अर्को त्यसको जस्तै चेतना ममा आओस् भन्ने भावले पनि कागको पूजा गरिन्छ ।’

कागको पूजा गर्दा निश्चित विधि र मन्त्रको प्रयोग गरिने पनि उपप्राध्यापक ढकालले बताए । शास्त्रमा ‘काकोऽसि यमदूतोऽसि’ भन्ने मन्त्र उच्चारण गर्दै कागलाई मिष्ठान्न तथा विभिन्न परिकार अर्पण गर्ने विधान रहेको उनले जानकारी दिए ।

‘विधि, हरेकको विधि हुन्छ । कागलाई बलिहरू दिइन्छ । “काकोऽसि यमदूतोऽसि” भन्ने मन्त्र उच्चारणपूर्वक हाम्रो शास्त्रमा हरेक कुराको विधि छ । बिना विधि केही पनि हुँदैन । संसार सृष्टि नै विधिमा चलेको छ,’ उनले भने ।

कागलाई खानेकुरा अर्पण गर्दा त्यसले सबैको कल्याण गरोस् भन्ने कामना गरिने उनको भनाइ छ । ‘हे काग देवता, तिमी यमराजका दूत हौ । मैले दिएको, अर्पण गरेको यो बलि तिमी खाऊ र सधैँभरि सबैको कल्याण गर भन्ने भावले हामी कागको पूजा गर्दछौँ,’ उनले भने ।

काग तिहारले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र जीवजन्तुप्रतिको सहअस्तित्वको सन्देश दिने गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस