• २०८३ कार्तिक १४ गते शुक्रवार

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण आज कार्तिक १२ गते देखि आगामी कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुनेछ भने विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

कृषि र जनजीवनमा पर्ने प्रभावबारे: कृषि कार्य: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा समेत भारी वर्षा र हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका महत्त्वपूर्ण कृषि कार्यहरू बिहीबार अगाडि नै सम्पन्न गर्न कृषकहरूलाई आग्रह गरिएको छ।

पहाडी तथा हिमाली क्षेत्रका पर्यटकहरूका लागि: उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी (Blizzard) तथा हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। पर्यटकहरूलाई तत्काल उच्च हिमाली भू-भागमा नजान र यदि गइसकेको भए सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

दैनिक जनजीवन र यातायात: मौसममा हुने अचानकको फेरबदलका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिन्छ।

यस विषम मौसमबाट हुनसक्ने सम्भावित क्षति जोगाउन आवश्यक पूर्वतयारी गर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूमा महाशाखाले जोडदार अपिल गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस