• २०८३ मङ्सिर २ गते मङ्गलवार

आर्थिक रूपमा शक्तिशाली बन्दै एनपीएल, यो संस्करणमा १५० करोडसम्मको कारोबार हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं। सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ। स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका काेषाध्यक्ष पदम खड्काकाे दाबी छ। साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टाेलीले १ कराेड ५० लाख पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयाेजना गरेकाे पत्रकार सम्मेलनमार्फत क्यानका काेषाध्यक्ष खड्काले पुरस्कार राशीबारे जानकारी गराए। खड्काका अनुसार उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ। प्रतियोगितामा ८ टीम सहभागी रहेका छन्। भाेलि बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम राेयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताकाे उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेकाे छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको बताए ।

यसका साथै प्रतियोगिताकाे सबै तयारी लगभग पूरा भएको समेत क्यानले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस