कात्तिक ३, भैरहवा । गत वर्ष तीन बालकको डुबेर ज्यान गएको रुपन्देहीको दानव नदीस्थित शिशुवा घाटमा यस वर्ष क्रेनको सहायताले दुर्गा मूर्ति विसर्जन गरिएको छ । सम्भावित दुर्घटना रोक्न शुद्धोधन गाउँपालिका–७ का स्थानीय रामजित लोधले आफ्नै निजी खर्चमा क्रेनसहित आवश्यक सुरक्षा व्यवस्थापन गरेपछि यस वर्ष विसर्जन कार्य सुरक्षित रुपमा सम्पन्न भएको हो ।

बडादसैँको समापनसँगै रुपन्देहीका रोहिणी, दानव, तिनाउलगायतका नदीमा दुर्गा मूर्ति विसर्जन गरिएको थियो । नदीमा पानीको बहाव र गहिराइका कारण हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै शिशुवा घाटमा क्रेनको प्रयोग गरिएको हो । क्रेनको सहायताले मूर्तिलाई नदीमा विसर्जन गरिएकाले श्रद्धालुहरुलाई गहिरो पानीमा पस्नुपर्ने जोखिम कम भएको स्थानीयले बताएका छन् ।
स्थानीय युवा नेता तथा समाजसेवी लोधले विसर्जन स्थलमा क्रेनको व्यवस्था गर्नुका साथै पाल, खानेपानी र युवाहरुको परिचालनसमेत गरेका थिए । चाडपर्वका बेला विगतमा भएका दुर्घटना दोहोरिन नदिन व्यक्तिगत खर्चमा सुरक्षा व्यवस्थापन गरिएको उनले बताए ।
“गत वर्ष तीन जना बालकले नदीमा डुबेर ज्यान गुमाउनुपरेको पीडादायी घटना हामीले बिर्सेका छैनौँ । फेरि त्यस्तो घटना नदोहोरियोस् भनेर आफ्नै खर्चमा क्रेन, टेन्ट र खानेपानीको व्यवस्था गरेको हुँ,” लोधले भने, “चाडपर्व मनाउँदा धार्मिक आस्थासँगै मानवीय सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ ।”
शिशुवा घाटमा गत वर्ष १४–१५ वर्ष उमेरका तीन बालकको डुबेर मृत्यु भएको घटनाले स्थानीयलाई अझै झस्काउने गरेको छ । नदीको गहिराइ र पानीको बहावबारे पर्याप्त सतर्कता नअपनाउँदा यस्ता दुर्घटना हुने जोखिम रहने स्थानीयको भनाइ छ ।
स्थानीय रेखा लोधले विगतमा आफ्ना बालबालिका गुमाउनुपरेका परिवारको पीडा स्मरण गर्दै यस वर्ष सुरक्षित विसर्जनको व्यवस्था गरिएकामा खुसी व्यक्त गरिन् । साना बालबालिकासहित घाटमा आउने श्रद्धालुका लागि क्रेनको प्रयोग र सुरक्षा व्यवस्थाले सहजता प्रदान गरेको उनको भनाइ छ । “पहिलेका वर्षमा आमाहरुले आफ्ना छोराछोरी गुमाउनुपरेको दुःखद अवस्था थियो । यसपटक क्रेनको व्यवस्था गरिएकाले जोखिम कम भएको छ,” उनले भनिन् ।
शुद्धोधन गाउँपालिका–४ बाट मूर्ति विसर्जनका लागि शिशुवा घाट पुगेका ओमप्रकाश यादवले स्थानीय तहले गर्नुपर्ने सुरक्षा व्यवस्थापन एक व्यक्तिले आफ्नै खर्चमा गरेको भन्दै लोधको प्रशंसा गरे । क्रेनको प्रयोगले मानिसहरुलाई गहिरो पानीमा पसेर मूर्ति विसर्जन गर्नुपर्ने बाध्यता कम भएको उनले बताए ।
“यस्तो संवेदनशील ठाउँमा स्थानीय सरकारले नै आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो । तर एक व्यक्तिले व्यक्तिगत खर्चमा यति ठूलो योगदान दिनु सराहनीय छ,” यादवले भने ।
घाटमा पूजा गराउँदै आएका पण्डित सुभाषचन्द्र मिश्रले नौ दिनसम्म दुर्गा पूजा–आराधना गरेपछि मूर्ति विसर्जन गर्ने परम्परा रहेको बताए । नदीको बहाव र गहिराइका कारण दुर्घटनाको जोखिम रहने भएकाले क्रेनको प्रयोग गरेर विसर्जन गराउनु सुरक्षित उपाय भएको उनको भनाइ छ ।
धार्मिक परम्परा निर्वाह गर्ने क्रममा मानवीय क्षति हुन नदिन यस्ता सावधानी अपनाउनु आवश्यक रहेको उनले बताए ।
यस वर्ष शिशुवा घाटमा क्रेनको प्रयोग र स्थानीयस्तरमा गरिएको सुरक्षा व्यवस्थापनका कारण कुनै अप्रिय घटना नभई मूर्ति विसर्जन सम्पन्न भएको स्थानीयले बताएका छन् । यद्यपि, चाडपर्वमा नदी तथा खोलामा हुने विसर्जनलाई सुरक्षित बनाउन व्यक्तिगत प्रयासमा मात्र निर्भर नभई स्थानीय तह, सुरक्षा निकाय र आयोजकले समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ ।