असोज २८, काठमाडौं । दशैंको सन्दर्भमा डा.मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरा बजासिहत पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्यसमेत गरेका छन् । परियारले ‘पुच्छर सम्मेलन’ मार्फत विभिन्न सामाजिक तथा धार्मिक कुरीति हटाउन आग्रह गरेका छन् । सम्मेलनमा दशैंलगायत चाडपर्वमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने, दशैंमा शक्तिपीठहरूमा नगरा लगाउने दमाई समुदायका व्यक्तिहरूलाई अपमान नगरी सम्मान गर्नुपर्ने र सबै जातिका हिन्दूहरूलाई मठमन्दिरमा प्रवेश सुनिश्चित गर्नुपर्ने विषय उठाइएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै जातीय विभेद गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा छुवाछुत तथा विभेद पुनः मौलाउन थालेको दाबी गरे । दलित अभियान्ता तथा नेता दलमर्दन कामीले देश धर्म निरपेक्ष हुँदा पनि धर्मीक कर्मकाण्ड र संस्कारमा भएका विकृतिले दलित समुदाय थप पीडित भएको बताए ।
सो कार्यक्रममा अभियान्ता कमला हेम्चुरीले भाग माग्ने तथा पुच्छर दिने परम्परा अन्त्य गर्नुपर्ने र धर्म तथा संस्कारमा सुधार गरी जातीय विभेद हटाउनुपर्नेमा जोड दिइन् । अभियान्ता मंगल सिंह प्रजाले संस्कृतिक तथा जातीय विभेदले हिन्दु धर्म बदनाम भएको तथा धर्मान्तरण बढेको जिकिर गरे ।