• २०८३ जेष्ठ ८ गते शुक्रवार

कर्णाली प्रदेशमा जानुपर्ने मत बलियो बन्दै

पढ्न लाग्ने समय : २ मिनेट

माघ १५, नेपालगञ्ज । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नुपर्ने आवाज दिनप्रतिदिन बढ्दोक्रममा पुगेको छ । बाँके, बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि आन्दोलनको तयारी समनवय समितिको आयोजनामा मंगलबार नेपालगञ्जमा भएको बैठकमा बाँके र बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा जान उपयुक्त भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता रहने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा सहभागी बर्दियाको मधुवन नगरपालिकाका प्रमुख गणेश केसी कृष्ण, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष हिमा थारु तथा गुलरिया नगरपालिकाका उपप्रम्ुख सुशीला गिरीले बर्दियाबासी कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा भएको बताउनुभयो । बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा समायोजनका लागि बर्दियाका मुद्धा पनि समावेश गरेर अघि बढ्न सुझाव दिनुभएको छ । नेपालगञ्जको हितका लागि बर्दिया पछि लागेर आन्दोलनमा सहभागी हुन नसक्नै भन्दै उहाँहरुले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिदा हुने उपलब्धी दुबै जिल्लाबासीलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष सफिक वेहना लगायतले प्रदेश ५ को राजधानी नेपालगञ्ज नहुने निश्चित भईसकेपछि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउनुभयो । प्रमुख राणाले दबाबमुलक आन्दोलनका कार्यक्रम अन्तर्गत, जनतामा जाने हस्ताक्षर अभियान संचालन गर्ने लगायतका कार्यक्रम गरिने बताउनुभयो । अभियान अन्तर्गत माघ २० गते नेपालगञ्जमा वृहद भेला हुनेछ भने बर्दियामा पनि समन्वय बैठक हुने भएको छ ।

बैठकमा सहभागी प्रदेशसभा सदस्य तथा नेपाली कााग्रेसका नेता मो. याकुब अन्सारी, नेकपाका रत्न खत्री र विजय गुप्ता, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, अधिकारकर्मी रविन्द्र कर्ण, डा. विनोद कर्ण, होटल ब्यवसायी संघ नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल लगायतले नेपालगञ्जको सुन्दर भविष्यका लागि कर्णाली प्रदेशमा जानैपर्ने धारणा राख्नुभयो । सहभागीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिए सबैभन्दा बढि फाईदा मधेसी, मुस्लिम र मधेसी समुदायमा हुने दावी समेत गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस