असोज २५, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बजारको मागअनुसार सीप विकास गरी युवालाई रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक सीप प्रदान गर्नुपर्नेमा जोड दिए । एभरेष्ट मल्टी स्किल प्रालिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबीचको अन्तरसमेत रहेको बताए ।

‘एकातिर युवाहरू रोजगारी खोजिरहेका छन् भने अर्कातिर उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता छ,’ उनले भने, ‘बजारको मागअनुसार सीप, सीपअनुसारको रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हासिल गर्नु प्राथमिकता हुनुपर्छ ।’
मन्त्री यादवले तालिम प्राप्त गर्नेको सङ्ख्यालाई मात्र उपलब्धिको आधार मान्न नहुने बताए । तालिमपछि कति जनाले रोजगारी पाए, कति जनाले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि सीप विकास कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ । तालिम मात्र होइन, रोजगारीसँग जोड्ने अवसर पनि दिनुपर्छ । कति जनाले तालिम गरे भन्ने आधारमा होइन, कति जनाले रोजगारी पाए, कति जनाले उद्यम सुरु गरे, उनीहरुको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि मापन गर्नुपर्ने हुन्छ । यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानिय तहबीचको सहकार्य पनि आवश्यक छ ।’
यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
युवालाई विदेश जानबाट रोक्नु मात्र सरकारको उद्देश्य नभएको उल्लेख गर्दै मन्त्री यादवले नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जाने युवालाई समेत दक्ष, सुरक्षित र मर्यादित श्रमिकका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने, सीप विकास तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र श्रमिकको सम्मान सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले बडादशैंको सुरुवातकै दिन गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीप्रति दुख व्यक्त गरे ।
उनले बुढीगण्डकीमा आएको बाढीलाई यसअघि भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको अर्को विपद्का रूपमा उल्लेख गर्दै मुलुकले पुनः प्राकृतिक विपद्को सामना गर्नुपरेको बताए ।
एनआरएनए आइसीसी उपाध्यक्ष एबम एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले विदेशमा सीप नभएका व्यक्तिहरु जाँदा त्यतिकै समय व्यथित हुने र तलब पनि कम हुने भएकाले हातमा सीप तयार गर्न आग्रह गरे । ‘अदक्ष व्यक्तिलाई दक्ष बनाएर मात्र स्वदेश तथा विदेशमा काम गर्दा राम्रो हुन्छ,’ उनले भने ।