असोज १९, काठमाडौं । आज विश्व शिक्षक दिवस विश्वभरी मनाइदैँछ । हरेक वर्ष अक्टोबर ५ का दिन विश्वभर मनाइने एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो।

सन् १९६६ अक्टोबर ५ का दिन युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा शिक्षकहरूको स्थिति सम्बन्धी ऐतिहासिक सिफारिसपारित भएको थियो। यसै ऐतिहासिक घटनाको स्मरण गर्दै युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो।
यसकाे मुख्य उदेश्य समाज र देशको निर्माणमा शिक्षकहरूले पुर्याएको योगदानको कदर तथा सम्मान गर्नु, शिक्षकहरूका अधिकार, कार्यस्थलको सुरक्षा, सेवा-सुविधा र क्षमता अभिवृद्धिबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु र गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न योग्य तथा उत्प्रेरित शिक्षकहरूको आवश्यकता प्रवर्द्धन गर्नु रहेकाे छ ।
यस दिन युनेस्को, विभिन्न देशका शिक्षा मन्त्रालय, शिक्षक सङ्घ-संगठनहरू र शिक्षण संस्थाहरूले विभिन्न कार्यक्रम, छलफल, अन्तरक्रिया, र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गर्दछन्।