प्रिय श्रीमान् ‘जी’ !
पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर तिमीलाई ‘बिदाइ’ गरे भन्ने लाग्यो होला । सायद देख्यौ होला तिमीले । कृपया त्यस्तो नठान । किनभने उहाँहरू तिमीलाई सदाका लागि बिदाइ गर्न होइन, उहाँहरू त तिम्रा सत्कर्मको सम्मानमा भेला हुनुभएको हो । परिवारजन, आफन्त, साथीभाइको समूह, सबै ।
आफ्नो ज्यान नै जोखिममा राखेर धेरैलाई जीवन दियौ तिमीले । पत्रकारितालाई भन्ने गरिएको आवाजविहीनहरूको आवाजको एक सच्चा पहरेदार तिमी थियौ । त्यसैले त कहिले मिटरब्याज पीडितको साथमा उभियौ त कहिले सहकारी पीडितको आँसु लेख्न । प्राकृतिक विपद् पीडितहरूका कथा र व्यथा धेरै लेख्यौ र आफ्नो लेखनीमार्फत् उनीहरूका लागि न्यायको याचना गरिदिन कहिल्यै पछि परेनौ । म नै साक्षी हुँ, पीडा भोग्न नसकेर रुँदै तिमीलाई फोन गर्नेहरू धेरै हुन्थे । पीडितले भक्कानिएका स्वरले न्यायका लागि समाचार लेखिदिन अनुरोध गर्ने गरेका आवाजहरू मेरो मन–मस्तिष्कमा अहिले पनि ताजै छन् ।

तर…। भोटेकोशी बाढीको मुखमा परेर तिमी विलय हुँदा तिम्रा लागि हामी रोएको तिमीले सुनेनौ । तिमीलाई बाढीले कति हिर्कायो, लुछ्यो, कति दुख्यो होला । कसरी सास त्याग्यौ होला ? तिम्रो त्यो पीडालाई कल्पना गर्न पनि सक्दैनौँ । तिमीलाई त सास त्यागेपछि पीडा सकियो होला, मेरा लागि यो पीडा जीवनभर सकिने छैन ।
तिमीले साँच्चै, पत्रकारितामार्फत निमुखाको आवाज बोलेका कथाहरू अनगिन्ती छन् । दुई दशकको पत्रकारितामा तिमीले समाज र राष्ट्रका लागि जति जे गर्न सक्यौ नि, त्यो पूरै जिन्दगीमा दिएको योगदानभन्दा बढी छ । अथाह छ । तिमीले जीवन दिएकाहरूले सदा सम्झने छन् ।
‘जिउँदा मान्छेहरूलाई इँटाभट्टामा जलाउने’ अफ्ताव आलमसम्बन्धी समाचार लेख्दा ज्यानको बाजी राखेर रौतहट पुगेका थियौ । त्यत्रो जोखिममा रिपोर्टिङ गरेको सम्झिँदा अहिले पनि मेरो आङ सिरिङ्ग हुन्छ । एउटा पत्रकारको यतिसम्म आँट र हिम्मत देखेर उत्तिकै गर्व लाग्छ । सायद मेरो भागमा त्यो काम आइपरेको भए मेरा खुट्टा काँप्थे होलान् । त्यस्तो परिस्थितिमा मेरो मात्र होइन, धेरै पत्रकारको खुट्टा काँप्थे होलान् ।
तिमीले दाहसंस्कारमा ‘नो डिस्काउन्ट’सम्बन्धी समाचार तयार गर्दा कोभिड–१९ को कहालीलाग्दो समय थियो । सरकारले सबैलाई घरमा बस्न अपिल गरेको थियो । तर, तिमीले पशुपति घुम्न जान्छु भनेर निस्कँदा जुन दृश्य देखेर समाचार तयार ग¥यौ । त्यो परिवारका लालाबालाले त जीवनमा सास फेर्न पाए । नयाँ जीवन पाए नै ।
धेरै असहाय, विपन्नले अहिले निःशुल्क दाहसंस्कार गर्न पाएका छन् । ती स्मृतिहरू ताजै छन् । तिमी आफैँ पनि पशुपति बेलाबेलामा जान्थ्यौ । अस्पतालमा उपचार गर्दागर्दै पैसा सकिएर दाहसंस्कार गर्न पैसा नभएकालाई तिमीले धेरैलाई सहयोग गथ्र्यौ । आफ्नो खातामा पैसा नभएको बेला ‘यो क्युआरमा पैसा हाल्देउ न’ भनेर मलाई बेलाबेला भनिरहन्थ्यौ । तिमीलाई मन्दिर जाँदा पैसा धेरै साटेर लैजानुपथ्र्यो । सकेसम्म सबैलाई दिनुपर्ने तिम्रो बिर्सनै नसकिने बानीहरू ताजै छन् । कतिले तिमीलाई टेकराज भनेर नचिने पनि सहयोग गरिरह्यौ ।
सधैँ खोज, अध्ययन, अनुसन्धान गरेर मात्रै समाचार तयार गर्ने तिम्रो बानीबाट मैले पनि सिकेको छु । भूकम्प, कोभिड, बाढीपहिरो, डुबानदेखि ट्रोनाडोसम्मका प्राकृतिक दुःख कष्ट आइपर्दा आफैँ अघि सरेर गइहाल्थ्यौ । आफ्नो अफिसबाट ‘यसो गरुँ’ भनेपछि जतिबेला पनि ‘नो’ नभन्ने, कामप्रति ज्यादै इमानदार कलमजीवी मान्छे तिमी ।
कोभिड–१९ को सङ्क्रमण फैलिरहेको अत्यन्तै त्रासको बेलामा विदेशबाट पहिलो पटक नुवाकोटमा कोभिड सङ्क्रमणबाट मृत्यु भएको शव आयो भन्ने खबर आयो । दिउँसोको २ः०० बजे हाराहारीको समय थियो । तिमी घरमै थियौ । नयाँ पत्रिकाबाट फोन आयो । ‘टेकराजजी, तपाईँ नुवाकोट रिपोर्टिङ गर्न जानुपर्ने भयो ।’ पहिलो शब्दमै ‘हुन्छ’ भनेर स्वीकृति दियौ । ‘हुन्छ’ मात्रै भनेनौ, तत्काल एउटा झोलामा ल्यापटप, चार्जर हालेर हिँडिहाल्यौ । ‘बाटोमा ढिला हुन्छ, खाजा खाएर जाऊ’ भन्दा पनि हिँडिहाल्यौ । झमझम पानी परिरहेको थियो । बाइकमा चिप्लो बाटो राति १०ः०० बजेतिर पुगेको खबर गरायौँ ।
त्यहाँ पुग्दा कोभिड लिएर काठमाडौँबाट आएको भनेर कसैले बास दिएनन् रे । त्यो कहालीलाग्दो समयमा त्यो रातिको अवस्था कस्तो भयो होला ? भोक प्यासको त कुरै भएन । बस्ने बास छैन । यस्ता धेरै घटनाहरू रिपोर्टिङका समयमा तिमीले भोग्यौ । ‘नयाँ पत्रिका’ले मात्र होइन, यति इमानदार, कर्तव्यनिष्ठ, यतिसम्म बफादार पत्रकार फेरि नेपाली मिडियाले पाउला कि नपाउँला ! कामप्रतिको मोह पनि त्यतिकै असाध्यै लोभलाग्दो थियो । काम गर्दै जाँदा रातिको १÷२ बजेको पनि पत्ता नपाउने । आफ्नो काम नसकेसम्म गरिरहने । पदप्रतिको मोह कत्ति पनि थिएन । पैसाप्रतिको मोह पनि कहिल्यै देखिन । पैसा आवश्यकता हो तर ठूलो कुरा होइन, मानिसमा इमान चाहिन्छ, पत्रकारिता पेसामा त अझै धेरै इमान चाहिन्छ भन्थ्यौ । कसैले समाचार लेख्दा पैसाको प्रलोभन देखाउँदा ‘तपाईं गलत ठाउँमा आउनुभएछ, कृपया जानुस्’ भनेर नयाँ पत्रिका कार्यालयबाट पठाएको कुरा मलाई सुनाएको धेरै महिना बितेको छैन ।
पैसाको कमी तिमीलाई थियो होला तर कहिले पनि आफ्नो इमान छाडेनौ । जतिसुकै जोखिमको रिपोर्टिङमा जान पनि मैले रोकिन । मलाई सधैँ लाग्थ्यो र लाग्छ, ‘हरेक मानिस स्वतन्त्र हुन्छ, जीवनसाथीका रूपमा मैले तिम्रो स्वतन्त्रता खोस्न मिल्दैन, श्रीमानप्रतिको मेरा धारणा सुनेर मेरा साथीहरू पनि अनौठो मान्थे । मैले सदा तिम्रो काममा साथ दिएँ किनकि तिमी सत्कर्ममा थियौ । सत्मार्गमा थियौ । सत्यको पक्षमा न्याय मिल्ने गरी कलम चलाउँथ्यौ ।
प्रिय जी ! तिमीलाई मैले मायाले बोलाउने नाम थियो । ‘जी’ तिमी इमानको अर्को नाम हौ । तिमीले मेरो काम, मेरो पढाइमा त्यति सहयोग ग¥यौ । कहिलेकाहीँ मलाई यस्तो मान्छे पनि हुँदो रैछ भन्ने लाग्थ्यो । दुवै जना पढ्दै गरेका विद्यार्थी, भर्खरै ‘करिअर’ सुरु गरेका । ब्याचलर सकेपछि विवाह भएको थियो । न परिपक्वता, न पढिसकेको, न राम्रो जागिर । त्यतिकैमा हाम्रो दुःखलाई मेटाउने खुसीको बहार लिएर छोरी जन्मिई । दुवै जना पत्रकारितामा स्नातकोत्तर भर्ना गर्ने तयारीमा थियौँ तर छोरी कसले हेर्ने भन्ने प्रश्न आयो । तिमीले भन्थ्यौ, ‘तिमी पहिला पढ, म छोरी हेर्छु, अनि म पढुँला ।’ मेरो पढाइ सकेपछि तिमीले स्नातकोत्तर ग¥यौ । तिमीले मेरो काममा साथ नदिएको कुनै पल थिएन । मैले गर्छु भनेको काममा अवरोध गरेको कुनै सम्झना छैन । पलपलमा तिम्रो साथ थियो । ‘जी’ तिमीलाई बिर्सिने कुनै ठाउँ नै छैन ।
‘जेनजी’ आन्दोलन (२०८२ भदौ २३) को दिन नयाँ बानेश्वरको संसद् भवन अगाडि रिपोर्टिङमै थियौ । निषेधाज्ञा तोडियो । गोली चल्यो, पत्रकारलाई पनि गोली लाग्यो भनेपछि मैले त्यहाँबाट विस्तारै निस्क भनेँ । ‘पत्रकार भएर डराएर हुन्छ ?’ भनेर त्यहाँबाट निस्किनै मानेनौ । मैले फेरि धेरैपटक त्यहाँबाट निस्किन अनुरोध नै गरेँ । अनि बल्ल त्यहाँबाट हिँडेका थियौ । डर भन्ने अलिकति पनि नभएको निडरपनको पत्रकार, अदम्य साहसको प्रतीक हौ तिमी । साँच्चै, मलाई र छोरीलाई तिम्रो बानी देखेर धेरै अचम्म लाग्थ्यो । पत्रकार भएर डराउनु हुँदैन भन्ने तिम्रो दृढ मान्यता थियो । त्यही कुरा सायद प्रकृतिलाई पनि मन्जुर भयो ।
‘जी’ तिमीले साँच्चै सास फेर्न गाह्रो भएकालाई सास दियौ । बेसाहाराहरूको सहारा बन्यौ । सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिका दैनिकमा लामो समय काम गर्दा कैयाँै समाचार लेख्यौ । तिमीले समाचारका लागि समाचार होइन, न्याय, सुशासन र आवाजविहीनहरूको आवाज उठायौ । पत्रकारिताको इतिहासमा तिम्रो हिम्मत र साहसको सदा उच्च सम्मान र स्मरण हुनेछ ।
तिमी अब्बल पत्रकार मात्र होइन, तिमी कुशल शिक्षक थियौ । विद्यार्थीलाई पढाउँदा तिमीले जीवन दर्शन दिनुपर्छ भन्थ्यौ । छोरी ‘बाबा मेरो स्कुलमा शिक्षक भएर आउनुस्’ भनिरहन्थिन् । सरस्वती क्याम्पस, बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पढाउँदा सधैँ विद्यार्थीलाई पुस्तकको ज्ञान मात्र होइन, जीवनमा असल नागरिक बन्ने कलासमेत पढाउँथ्यौ । एउटा असल शिक्षकले सयौँ विद्यार्थीलाई असल नागरिक बनाउन सकिन्छ भनेको हिजोजस्तो लाग्छ । तिमीले विद्यार्थीलाई पढाउने प्रस्तुतिहरू कम्प्युटरमा तिम्रै प्रतीक्षा गरिरहेका छन् ।
कुशल पत्रकारिता र असल शिक्षक मात्र होइन, तिमी आफ्नो मातृभाषा थामी भाषामा पनि निकै निपुण थियौ ।
गोरखापत्रमा थामी भाषाको पृष्ठ संयोजक, थामी भाषाको पुस्तक लेख्ने, विद्यालयको पाठ्यक्रम तयार गर्ने, भर्खरै कक्षा चारको थामी भाषाको पुस्तक तयार गरेर पढाउन सुरु गरेका थियौ । नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीसँग ‘अब त थामी भाषाको पाठ्यपुस्तक लेख्न मलाई आइडिया आयो, म अरू किताब लेख्न सक्छु’ भनेर खुसीले फोनमा कुरा गरेको अस्तिजस्तो लाग्छ तर तिम्रो हातले थामी भाषाको पुस्तक चार कक्षासम्म मात्र लेख्न भ्याए । आफ्नो भाषाको खम्बा सम्पर्कविहीन भएपछि नेपाल थामी समाजमा बेचैन भएको तिमीलाई थाहा भयो कि भएन ?
तिम्रो पिएचडी गर्ने धोको थियो । एउटा पुस्तक प्रकाशन गर्ने अन्तिम तयारी थियो । दसैँसम्म सक्छु भनेर लेखिरहेका थियौ । एउटा गाडी किनेपछि घरको पार्किङ पूरा हुन्छ भन्थ्यौ । सायद तिम्रा अधुरा सपना धेरै थिए । हरेक महिना पहिलो शनिबार परिवार नै ‘ट्रेकिङ’ जाने योजना बनाएका थियौ । त्यो योजना सुरु नै नभई अन्त्य भयो । प्रकृतिले यति क्रूर रूप देखाउला र तिमीलाई ‘अइया’ भन्न समेत नदेला भन्ने कल्पनै भएन । सुन्दर भविष्य र सपनाहरू बोकेर हिँडेको एउटा कञ्चन मान्छेलाई अकल्पनीय रूपमा प्रकृतिले आफैँसँग लियो ।
प्रिय जी ! तिमीलाई लाग्यो होला । मलाई यति कष्ट पर्दा मेरी श्रीमतीले खोजिनन् भनेर । त्यो सत्य होइन । मैले खोजेर भेटिने भए, मैले मेरो पूरै ज्यान दिन्थेँ । भदौ १० गते बुधबार बिहान ‘साउथ एसिया रिसर्च सेन्टर इन सउथवेस्ट चाइना’ का आयोजक बिहान ७ः०० बजे मितेरी पुलमा चिनियाँ साथी लिन आउने कुरा थियो । मलाई लाग्यो, बिहान आयोजकले लिएर जानुभयो । चीनतर्फ फोन लाग्दैन । हिमपहिरोपछि बत्ती नभएर इन्टरनेट उपलब्ध हुन सकेन । फोन म्यासेजको प्रतीक्षा गर्दागर्दै त्यो दिन बित्यो । भोलिपल्ट बिहान लिन आउने स्थान रसुवागढी पुल नै भएको भन्ने बोध भयो तर लगत्तै पत्रकार अन्वेषण अधिकारीलगायतले अनलाइन देखेको भन्ने भयो । सम्पर्कमा तिमी आउँछौ भन्ने विश्वास भयो ।
जी ! तिम्रो बानी फेरि अनौठो थियो । केही गरी एक÷दुई घण्टा सम्पर्कमा म आउन सकिनँ भने तिमी आत्तिन्थ्यौ तर तिमी काममा गएका बेला काम सकेर विस्तारै एक÷दुई दिनमा विस्तारै सम्पर्कमा आउँथ्यौ । यसपालि पनि मलाई यस्तै लाग्यो । तिमी सम्पर्कमा आउँछौ भन्ने ढुक्कमा थिएँ म । प्रतीक्षा गर्दागर्दै दिन बित्यो, रात बित्यो तर फोन म्यासेज केही आएन । लिन आउने आयोजक पनि बुधबार बिहान ८ः१९ पछि अनलाइन देखिएनन् । शुक्रबार थाहा भयो कि तिमीले कसैलाई फोन गर्न भ्याएकै थिएनौ । मोबाइलको सिम ट्रयाकिङ गरेर हेर्दा रसुवागढी बोर्डरमै ८ः२१ मा तिमीलाई देखायो । बिहान ८ः४० मा हिमपहिरो आयो । त्यसले यति क्रूर रूप देखायो कि तिमीलाई एक पल केही सोच्नै दिएन ।
तिमीलाई खोज्ने क्रममा परराष्ट्र मन्त्रालय पुगेर नेपाल–चीनको सीमाको अध्यागमन इन्ट्री र पास भए÷नभएको हेरेँ । पास भएको नामावलीमा तिम्रो नाम कहीँ देखिएन । मानसरोवर जाने र लाङटाङ जाने ६÷७ सय मानिस लाइनमा थिए भन्ने जानकारी प्राप्त भयो । हुन त तिमीसँग अघिल्लो दिन बेलुका कुरा हुँदा भनेका थियौँ, मानसरोवर जानेको धेरै भीड छ भनेर तर मैले त्यतिसम्म भीड होला अनि, प्रकृतिले त्यतिसम्मको क्रूरता देखाउला भन्ने अनुमान नै भएन ।
चिनियाँ दूतावासमार्फत् खोजिदिन अनुरोध गरेँ । सञ्चारमन्त्रीले फोन गर्नुभयो । गएर कुराकानी गरेँ । खोज्नका लागि कहाँकहाँ पुग्नुपर्ने हो, सबै ठाउँमा पुगेँ । तर तिमीलाई खोज्न सम्भव नभएको सुनेपछि धेरै दिन म मुर्छित भएँ । मलाई असाध्यै सहनै नसक्ने पीडा भयो । मलाई एक प्रकारले निरीह महसुस भयो । म मात्रै होइन भाइ (देवर) विदेशबाट आएर नेपाली सेनाको हेलिकप्टरमा खोज्न भनेर रसुवा–नुवाकोट निस्किनुभयो । हाम्रा भाइहरू अस्पताल अस्पताल धाए तर तिमीलाई कहीँ भेट्न सकेनन् । हार खाएर बेपत्ताको सूचीमा फोटो टाँसेर भक्कानिँदै खाली हात फर्किए ।
तिमीलाई लाग्यो होला जी ! तिमी हराएपछि विक्षिप्त तिम्रो श्रीमती मात्रै भइनँ, तिम्रो छोरी, तिम्रो बाबुआमा, परिवार सबै आँसुको तलाउमा डुबे । तिमीलाई माया गर्ने कसैको आँखा ओभानो थिएन । तिमीले पढाउने कलेजका शिक्षक, विद्यार्थीले सकुशल भेटियोस् भनेर प्रार्थनासभा नै गरे । तिमीले अँगालेको पत्रकारिता क्षेत्र, सिङ्गै देश शोकमा डुब्यो । तिम्रो उपस्थिति नहुँदा तिम्रो सम्मानमा सबै एक ठाउँमा उभिनुभयो । त्यो तिम्रो सिङ्गो जीवनको कमाइ हो जी ! तिमी दुःखी नहुनु । तिमीले आफ्नो जीवनकालमा जति जे गर्न भ्यायौ । समाजका लागि, राष्ट्रका लागि दिएर गयौ । तिमी देशलाई माया गर्ने एउटा असल नागरिक हुनुका नाताले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह ग¥यौ ।
तिम्रो खबरको प्रतीक्षामा दिनरात जुट्दाजुट्दै झण्डै महिना बित्न लाग्यो । सबैले तिमीलाई प्रकृतिले लिएको कुरा स्वीकार गर्न अनुरोध गर्नुभयो । सबैले मलाई बलियो हुनुपर्छ भन्नुभयो । यसरी जीवन चल्दैन भन्नुभयो । कसरी ? म आफैँले आफैँलाई पटकपटक प्रश्न गरेँ तर, म प्रयास गरिरहेकी छु । किनकि हाम्रो सहयात्रा सुरु भएदेखि नै ‘मेरो श्रीमती सक्षम छिन्, मलाई केही भइहाल्यो भने पछि बच्चालाई राम्रोसँग हेर्छिन् भन्थ्यौ, तिमी मेरो श्रीमती मात्रै होइन, आमा हौ, देवी हौ, सबैथोक हौ भन्थ्यौ ।’
श्रीमतीलाई मात्रै होइन, स्त्रीजातिप्रति तिम्रो विशेष सम्मान थियो । महिलाहरू आत्मनिर्भर हुनुपर्छ । सक्षम हुनुपर्छ भनिरहन्थ्यौ । तिम्रो साथ, आँट, भरोसा, माया र विश्वास सायद मेरो जीवनको खुट्टा टेक्ने बलियो आधार तयार भएको छ । तिमी सधैँ स्वाभिमानी भएर, खुसी भएर शीर ठाडो बनाएर हिँड्नु भन्थ्यौ । तिम्रो हँसिलो अनुहार देख्नेबित्तिकै सबै दुःख भुल्छु भन्थ्यौ । केरुङ जानु केही दिनअघि मात्रै भनेका थियौ, ‘देशमा अशान्ति छ, विश्वभरि नै केही न केही अशान्ति छ, मेरो घरमा मात्रै शान्ति छ भन्थ्यौ, त्यो शान्तिको नाम तिमी रहेछौ, तिमी हराएदेखि घर अशान्त छ ।’ यो सबै सम्झिएर तिम्रो विश्वासमा म धुमिल हुन दिन सक्दिनँ । मैले बलियो हुनुपर्छ । खुट्टा टेक्नैपर्छ ।
तिमीलाई जहिले पनि म बिरामी हुँदा बढी दुख्थ्यो तर बिरामी तिमी बढी हुन्थ्यौ । तिमीलाई सधैँ म खुसी र सफल भएको हेर्ने मन थियो । श्रीमतीको खुसीमा तिमी मभन्दा धेरै खुसी हुन्थ्यौ । एउटा असल पति हौ तिमी । जीवनसाथीका रूपमा तिमी जतिको असल मान्छे मैले अरू कल्पना गर्न सक्दिनँ ।
जी ! तिमी असल पति मात्रै होइन, कुशल बाबु हौ । शुक्रबारको दिन तिम्रो अफिस बिदा हुने भएकाले छोरी आउने बाटोमा कुरेर बस्थ्यौ । उनलाई मनपर्ने खाना खुवाएर घुमाएर ल्याउँथ्यौ । बाबुछोरी खुब गफिन्थ्यौ । आमाले भनेको मान्नु, राम्रो पढ, असल मान्छे हुनुपर्छ आदि… भन्थ्यौ । तिमी हरेक क्षेत्रमा असाधारण व्यक्तित्वका धनी थियौ । तिम्रो सम्मान र सम्झनामा म सधैँ रोएर तिम्रो मप्रतिको भरोसालाई निराश बनाउन सक्दिनँ । मप्रतिको तिम्रो विश्वासलाई कमजोर बनाउन सक्दिनँ ।
तिमी एउटा निडर र साहसिक पत्रकार हौ । सधैँ पढिरहने, फिल्म हेरेर ठूलो स्वरले हाँस्ने, तिम्रो उपस्थितिले घर उज्यालो हुन्थ्यो । तिमी कहिले पनि नरिसाउने, हाँसिरहने शक्तिशाली सुन्दर व्यक्तित्वका धनी थियौ । तिमीले आफ्नो हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा ग¥यौ । जति बाँच्यौ, साँच्चै ढुक्कले बाँच्यौ । दुःख त मनमा थिए होलान्, तर देखाएनौ । सधैँ हाँसेर खुसी भएर बाँच्यौ । तिमीलाई कहिले पनि हतार नहुने । मलाई हतार हुँदा नि ‘पछि गरौँला नि, काम बस न एकछिन’ भन्थ्यौ । तर खै ! तिमीले प्रकृतिको केही बिगार गरेका त थिएनौ, तैपनि तिमीलाई लैजान धेरै हतार ग¥यो ।
तिम्रो अत्यन्तै कोमल हृदय । परिवारलाई अत्यन्तै माया गर्ने स्वभाव, जीवनसाथीभन्दा पनि रमाइला साथी थियौ । भरपर्दो र विश्वासिलो, आमाको काखजस्तो, बाबुको काँधजस्तो कुशल अभिभावक थियौ । तिमीसँग बिताएका मेरा प्रत्येक पलहरू कति सुन्दर थिए । ती सबै म अहिले शब्दमा वर्णन गर्न सक्दिनँ । रिस र झगडा भनेको कहिले पनि तिमीमा देखिएन । मायाको अर्को नाम हौ तिमी ।
म अब तिम्रो अनुपस्थितिमा कसरी अघि बढ्छु थाहा छैन । तिमी छैनौ भन्ने विश्वास मेरो हृदयले अहिले पनि स्वीकार गरेको छैन । मेरो आँखाले तिमीलाई राम्रो, सकुशल वरिपरि देखिरहेको छ । सबैले छैनौ भनेपछि मैले बाध्यताले त्यसलाई स्वीकार गरेकी मात्रै हुँ । घरमा प्रत्येक पुस्तक तिम्रो प्रतीक्षामा छन् । तिमी बसेर पढ्ने कुर्सीले कुरिरहेको छ । तिमीले हाँसेको र बोलेको घरभरि गुञ्जिरहेको छ । तिमी छैनौ भन्ने आधार यहाँ केही पनि छैन…।
तिमी आउने बाटो हेरेको यतिका दिन बित्यो । तिमी यतिसम्म निर्दयी त पक्कै होइनौ । तिम्रो त्यो सरलपन कहिलेकाहीँ निर्दयी हुन सक्दैन तर समय नै निर्दयी भयो । तिमीलाई प्रकृतिको क्रूरताले आफ्नो अवस्थाबारे जानकारी दिने समय पनि दिएन किनकि प्रकृति तिम्रो बसमा थिएन । सायद, पूरै जिन्दगी सङ्घर्ष गरेर भर्खरै खुसीका पालुवा पलाएको प्रकृतिले देख्न सकेन । खुसीले सास फेरेको हेर्न सकेन ।
मेरो प्रिय जी ! तिमी जहाँ छौ खुसी रहनु । तिमीप्रतिको माया, प्रेम र भरोसा सदा उत्तिकै रहन्छ । तिमीले दिएको सत्कर्मको मार्गदर्शन र तिमीले मप्रति गरेको विश्वासमा म कहिल्यै आँच आउन दिने छैन ।
तिमी सम्पर्कविहीन भएपछिका मेरा असह्य पीडाका दिनहरूमा म कार्यरत अफिस रासस ‘परिवार’ भएर उभियो । परिवारको प्रत्येक सदस्यको मुहारमा कान्ति छैन । तिमी कार्यरत नयाँ पत्रिका मेरो अर्को ‘परिवार’ भएर उभियो । तिम्रा सहकर्मीहरू र पूर्वसहकर्मीहरू देशविदेशमा भएका सबै भावविह्वल हुनुभयो । तिम्रा ‘सिनियर’ र साथीहरू निःशब्द हुनुहुन्छ । सिङ्गो नेपाली पत्रकारिता स्तब्ध भयो । तिमी बेपत्ता भन्ने सुनेदेखि नेपाल थामी समाज पानीबिनाको माछाजस्तै मर्माहत भयो । सबै तिम्रो खोजी गर्नेदेखि मलाई आत्मबल दिने हरेक काममा साथ छन् । मेरा साथीहरू तिमी बेखबर भएदेखि मेरो वरिपरि खम्बा भएर उभिएका छन् ।
सबैले तिमी हराएपछि एउटा निडर र असल पत्रकारको कमी महसुस गरेका छन् । जी ! तिमी सबैको प्रिय पात्र हौ । महान पत्रकार हौ । आफ्नो सत्कर्मका कारण सबैका माझ तिमी अमर रहनेछौ । खुसी हुनु ! तिमीले देखेनौ जी ! तिमीलाई माया गर्ने हजारौँ मानिसहरू तिम्रो सम्मानमा उभिनुभएको छ । नेपाल पत्रकार महासङ्घले तिम्रो कर्मको स्मरण गर्दै कुशको शरीरमा महासङ्घको झण्डा ओडाएर सम्मान गरेको छ । महासङ्घ आफैँ पनि स्तब्ध छ ।
असह्य पीडाका दिनहरूमा हजारौँ मानिसहरू मेरो साथमा उभिनुभयो । सबै हुनुहुन्छ तर जी ! तिमी छैनौ । तिम्रो अनुपस्थितिमा हामी अपुरा, अपुरा भएका छौँ । तिमी मेरो हृदयको गहिराइमा बसेको पात्र हौ । म तिमीलाई कहिल्यै पनि ‘बिदाइ’ गर्न सक्दिनँ । हामी एकअर्कामा कहिले पनि टाढा हुँदैनौँ । हामीले बाँचेका हरेक पल ताजै छन् । तिमी मेरो जीवनको एउटा हिस्सा हौ । जुन प्रकृतिले पनि कहिले पनि खोस्न सक्दैन । मलाई तिम्रो पत्नी हुनुमा गर्व छ । सदा रहनेछ । तिमीप्रतिको मेरो सम्मान जीवनपर्यन्त रहनेछ ।
तिम्रो पृथ्वीमा रहँदाको सत्कर्मलाई इतिहासले सम्झनेछ । पुस्तौँपुस्ताले सम्झनेछन् । सबैलाई राम्रो देख्ने तिम्रा ती आँखा । सबैलाई माया र सम्मान गर्ने तिम्रो बानी । तिमीमा एक अद्भुत मानवता थियो । कसैले पनि तिम्रो अहिलेको अवस्थाबारे आँखाले देखेका छैनन् । तिमी कहीँकतै छौ भन्ने पनि अवश्य आउनेछौ । त्यो आउने दिनसम्म बाटो हेरिरहने उही तिम्रो प्रिय पत्नी…।