असोज १६, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षको लागि १२ जनाले आवेदन दिएका छन्। बोर्डले १६ साउनमा अध्यक्षको लागि आवेदन माग गरेको थियो। चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष भुवन केसीको कार्यकाल ८ साउनमा सकिएको थियो। यसपछि बोर्ड अध्यक्षविहीन छ। अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम् योग्यता कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ। साथै, नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर १० वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर १० वर्ष काम गरेको हुनुपर्ने मापदण्ड राखिएको छ।

आवेदन दिनेमामा निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेती रहेको बोर्ड सदस्य अशोक शर्मा बताउँछन्।
बोर्ड अध्यक्ष छनोटको लागि सूचना तथा सञ्चार मन्त्रालयले छनोट समिति गठन गरेको छ। मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र वरिष्ठ चलचित्रकर्मी अशोक शर्मा सदस्य रहेका छन्। समितिले उम्मेदवारको अन्तर्वार्ता, कार्ययोजनाको प्रस्तुतीकरण लिइसकेको छ। उम्मेदवारमध्ये तीन जना सिफारिस गरिने र मन्त्रिपरिषदले तीमध्ये एक जनालाई नियुक्त गर्ने बताइएको छ। प्रतिस्पर्धीको सर्टलिष्ट तयार पार्न छलफल चलिरहेको शर्माले बताए।
विकास बोर्डमा कस्तो व्यक्ति चाहिन्छ?
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्र क्षेत्रको सामान्य जानकारी मात्र पर्याप्त हुँदैन। यस पदका लागि चलचित्र उद्योगको गहिरो ज्ञान, संस्थागत प्रक्रियाको स्पष्ट बुझाइ र त्यस ज्ञानलाई व्यवहारमा उतार्दै उद्योगलाई अगाडि बढाउन सक्ने नेतृत्व क्षमता आवश्यक हुन्छ।
आवेदन दिएकी तथा बोर्ड अध्यक्षको प्रतिस्पर्धामा रहेकी एक उम्मेदवार हुन् जेनिश पहारी श्रेष्ठ। उनले नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रमा एक दसकभन्दा बढी समय प्रत्यक्ष रूपमा काम गर्दै यी तीनै पक्षमा अनुभव हासिल गरेकी छन्। उनको व्यावसायिक अनुभव चलचित्र वितरण, प्रदर्शन, मार्केटिङ, व्यवसाय विकास, कन्टेन्ट अधिग्रहण तथा अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँगको सहकार्यलगायत चलचित्र क्षेत्रका विभिन्न आयाममा फैलिएको छ। यसले उनलाई चलचित्र उद्योगलाई कुनै एक पक्षबाट मात्र नभई समग्र चलचित्र इकोसिस्टमका रूपमा बुझ्ने व्यावहारिक अनुभव दिएको छ।
साथै, चलचित्र निर्माता, निर्देशक, वितरक, प्रदर्शक तथा अन्य सरोकारवालाले भोगिरहेका चुनौती र उद्योगमा रहेका सम्भावनाबारे उनको प्रत्यक्ष बुझाइ छ। उनको व्यावसायिक अनुभवसँगै शैक्षिक तथा कानुनी पृष्ठभूमि अर्को महत्वपूर्ण पक्ष रहेको छ। अमेरिकामा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा पूरा गरेपछि उनी आफ्नै देशमा फर्किएर आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ व्यावसायिक यात्रालाई निरन्तरता दिइन्। कानुन व्यवसायीका रूपमा उनले कानुन, नीति, नियम, सम्झौता तथा संस्थागत प्रक्रियाको समेत गहिरो ज्ञान हासिल गरेकी छन्। चलचित्र उद्योग र सरकारी संयन्त्रबीच समन्वय आवश्यक पर्ने चलचित्र विकास बोर्डको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेको उनी बताउँछिन्।
अन्तर्राष्ट्रियस्तरमा प्राप्त उनको अनुभवले नेपाली चलचित्र उद्योगलाई विश्व चलचित्र बजारसँग जोड्ने सम्भावनाबारे उनको दृष्टिकोणलाई थप फराकिलो बनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्माता, वितरक, चलचित्र बजार तथा संस्थाहरूसँगको संलग्नतामार्फत उनले नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय सहकार्य, बजार विस्तार, सांस्कृतिक आदानप्रदान तथा नेपालको सिर्जनात्मक उद्योगलाई विश्वस्तरमा थप प्रभावकारी रूपमा स्थापित गर्ने सम्भावना नजिकबाट बुझ्ने अवसर पाएकी छन्।
उनको प्रोफाइलको महत्वपूर्ण विशेषता भनेको व्यावहारिक चलचित्र उद्योगको ज्ञान र कानुनी तथा संस्थागत संरचनालाई बुझ्ने क्षमताबीचको सन्तुलन हो। एक दशकभन्दा लामो व्यावसायिक यात्राले विभिन्न सरोकारवालासँग समन्वय गर्ने, समस्याको व्यावहारिक समाधान खोज्ने र फरक–फरक हित तथा दृष्टिकोणलाई एउटै दिशामा अघि बढाउने नेतृत्व क्षमता पनि विकास गरेको छ।
चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा चलचित्र उद्योगको वास्तविकता बुझ्ने मात्र नभई सरकार, नीति–निर्माता, सरकारी तथा गैरसरकारी संस्था, उद्योगका सरोकारवाला र अन्तर्राष्ट्रिय साझेदारहरूसँग प्रभावकारी रूपमा समन्वय गर्न सक्ने नेतृत्व आवश्यक हुन्छ। पहारीको उम्मेदवारीले चलचित्र उद्योगको गहिरो व्यावहारिक ज्ञान, कानुनी तथा संस्थागत बुझाइ, अन्तर्राष्ट्रिय अनुभव र दूरदर्शी नेतृत्वलाई एउटै ठाउँमा जोड्ने आधार प्रस्तुत गरेको छ। यी अनुभव र क्षमताका आधारमा उनी नेपालको चलचित्र क्षेत्रको संस्थागत तथा दीर्घकालीन विकासका लागि योगदान पुर्याउन सक्ने नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गरेको उनी बताउँछिन्।